काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला)समूहको शुक्रबारबाट सुरु हुने राष्ट्रिय भेलामा ५ प्रतिवेदन प्रस्तुत हुँदैछन् । शुक्रबार उदघाटन सत्र मात्रै हुने र शनिबारबाट अरु कार्यक्रम सुरु हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । ‘शुक्रबार उदघाटन सत्र हुन्छ । शनिबारबाट बन्दसत्रका कार्यक्रम सुरु हुन्छन्,’ विश्वकर्माले भने, ‘५ प्रतिवेदन पेस हुने तय भएको छ ।’
आइतबारसम्म चल्ने भेलाको विस्तृत कार्यतालिका र छलफलका विषयहरूबारे प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले दिएको जानकारी अनुसार भेलामा राजनीतिक, सांगठनिक, आर्थिक र विधानसँग सम्बन्धित विभिन्न प्रस्तावहरूमाथि घनीभूत छलफल हुनेछ ।
शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिए । त्यस्तै, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ।
शनिबार नै यी प्रस्ताव भेलामा पेस भइसकेपछि विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गर्ने कार्यतालिका छ । आइतबार शनिबार विभाजित गरिएका समूहका संयोजकहरूले आ–आफ्नो समूहको धारणा राख्ने र प्रस्तुत प्रस्ताव र समूहगत धारणामाथि निष्कर्ष निकाल्ने कार्यसूची छ । र अन्तिममा शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको संयोजक विश्वकर्माले जानकारी दिए ।