ललितपुरमा यसरी हुँदैछ सिट बाँडफाँड

20.6k Shares

ललितपुर । ललितपुरमा तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको दाबेदारी देखिएको छ । २०७४ को निर्वाचनको परिणामलाई हेर्दा तीनवटै दलले तीन सिट बाँडफाँट गरी चुनाव लड्ने सम्भावना बलियो बनेको छ । क्षेत्र नं १ मा नवराज सिलवाल जितेका थिए । उनले पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणालाई हराएका थिए । सिलवाल एमालेमै छन् । यसकारण गठबन्धनबाट उक्त क्षेत्र काँग्रेसको भागमा पर्ने सम्भावना बलियो छ । त्यहाँ राणा उम्मेदवार बन्ने सम्भावना बलियो भएकाले तयारीमा लागिसकेका छन् ।
क्षेत्र नं २ मा कृष्णलाल महर्जनले जितेका थिए । उनी एमाले छाडी नेकपा एसमा छन् । माधवकुमार नेपालका विश्वासपात्र मानिएका महर्जन चुनाव लड्ने पक्षमा छैनन् । उनी चुनाव नलड्ने भएसँगै एसबाट नयाँ दाबेदार देखिएका छन् । प्रदेश सांसद माधव पौडेलको दाबी देखिन थालेको छ । तर, कृष्णलाल महर्जन या उनीनिकट कोही चुनावमा बढ्ने सम्भावना छ । नेपाली काँग्रेसको पनि क्षेत्र नं २ मा दाबेदारी छ । उक्त क्षेत्रमा पूर्वसांसद चन्द्र महर्जन, पूर्वसभासद रामकृष्ण चित्रकार, पुराना नेताहरु प्रेमकृष्ण महर्जनलगायत दाबेदार छन् । तर, एसले जितेको क्षेत्र भएकाले काँग्रेसले प्रदेशमा मात्र सिट पाउने सम्भावना छ ।
क्षेत्र नं ३ मा ऊर्जामन्त्री पम्फा भुसालले जितेकी थिइन् । उनी माओवादी केन्द्रबाट चुनाव जितेर मन्त्री समेत भइन् । उक्त क्षेत्रमा माओवादीकै बलियो दाबी देखिएको छ । नेपाली काँग्रेसका नेताहरुको पनि उक्त क्षेत्रमा दाबी देखिन्छ । तरुण दलका पूर्वअध्यक्ष जीतजङ्ग बस्नेतले चुनाव लड्ने गरी अभियान नै चलाएका छन् । २०७० मा उक्त क्षेत्रमा चुनाव जितेका मदन बहादुर अमात्य पनि चुनावी मैदानमा जाने तयारीमा छन् । २०७४ मा उनी पम्फाबाट झिनो मतान्तरले पराजित भएका थिए । यसकारण गठबन्धनमा पम्फालाई समर्थन गर्न अमात्यलाई कठिन छ । ललितपुरमा गठबन्धनको तीन दलले तीन सिट बाँडफाँट गरी उम्मेदवारी दिने चर्चा चलेसँगै स्वतन्त्र उम्मेदवारहरु पनि रणनीति बनाएर तयारीमा छन् । क्षेत्र नं १ मा डा. सचिन घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यहाँ अर्का स्वतन्त्र उम्मेदवार माधव खत्री पनि अगाडि सरेका छन् ।
क्षेत्र नं २ मा डा. दीपेश केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् । उक्त क्षेत्रको जनजीवनसँग भिजेका उनी अभियानसहित क्षेत्रमा डेरा जमाउन थालेका छन् । ललितपुरमा मात्र नभई बाहिर पनि उनको उम्मेदवारीको चर्चा छ । क्षेत्र नं ३ मा पुराना काँग्रेस नेता भरतलाल न्याच्छोले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले हिन्दूराष्ट्र स्थापनाको मुद्दा उठाएका छन् ।
ललितपुर २ बाट कांग्रेसका टिकट दाबेदार को ?
नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् । ललितपुर २ बाट २०७० मा निर्वाचित सांसद चन्द्र महर्जन मुख्य दाबेदार बनेका छन् । उनी काँग्रेस बागमती प्रदेशका उपसभापति पनि हुन् । महर्जन उक्त क्षेत्रबाट सबैभन्दा धेरैपटक चुनाव लड्नेमा पर्दछन् । एकपटक मात्र जित्न सके । महर्जन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् ।
२०७० मा समानुपातिकतर्फबाट सभासद बनेका रामकृष्ण चित्रकार पनि दाबेदार देखिएका छन् । चित्रकार नेविसंघका पूर्वउपसभापति पनि हुन् । उनी काँग्रेस ललितपुर जिल्ला सभापतिमा झीनो मतान्तरले पराजित भएका थिए । टिकटको दाबी गर्दै चित्रकारको दौडधूप तिव्र भएको छ । उनी काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत निकट मानिन्छन् । नेविसंघका पूर्वसहमहामन्त्री बाबुराजा चित्रकार पनि टिकटको दाबेदार हुन् । ललितपुर २ मा टिकटका मुख्य दाबेदारमध्ये उनी सबैभन्दा कान्छा हुन् । चित्रकारको युवामाझ बलियो पकड रहेको छ । उनी काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।
यसैगरी, जिल्लाका प्रभावशाली नेता प्रेमकृष्ण महर्जन पनि ललितपुर २ मा टिकटको दाबेदार बनेका छन् । उनी मेयरको टिकटको दौडमा थिए । जिल्लाको राजनीतिमा बढी केन्द्रित भएका महर्जन यसपटक पछि नहट्ने भन्दै सक्रिय छन् ।

सम्बन्धित समाचार