नारायणीमा पानीको सतह बढ्दै: उच्च सतर्कता अपनाउन आग्रह

20.1k Shares

नवलपुर, १७ साउन । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ। नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला,’ उनले भने ।

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो ।

नदीमा आज बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ। देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ । रासस

सम्बन्धित समाचार