प्रचण्ड चुनावपछिको प्रधानमन्त्री हुने गरी चुनावी तालमेल

19.3k Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक भूमिका रह्यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रधानमन्त्रीको सहमति उल्लंघन गरेर धोका दिएपछि प्रचण्डले देउवालाई साथ दिने रणनीति चाले । चुनाव देउवाले नै गर्ने र त्यसपछि प्रचण्ड फेरि प्रधानमन्त्री हुने गरी भद्र सहमति भएको बुझिएको छ । चुनावमा पनि देउवा र प्रचण्डबीच चुनावी तालमेल हुँदैछ । काँग्रेसले चुनावी तालमेलको औपचारिक निर्णय लिइसक्यो ।
प्रचण्डले भारत भ्रमणका बेला सत्ता गठबन्धनमा चुनावपछि आलोपालो प्रधानमन्त्रीमा सहमति बन्न सक्ने खुलासा गरे । उनले विगतमा पनि भारत भ्रमणकै बेलामा आफू र केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति बनेको खुलासा गरेका थिए । ओलीले आफूलाई धोका दिएको र त्यसको जवाफ दिएको सन्देश प्रचण्डले दिँदै आएका छन् । यसकारण पनि उनी ओलीसँग मिलेर चुनावमा जाने सम्भावना देखिँदैछ । तर, काँग्रेससँग चुनावी तालमेल गर्न प्रचण्डले शर्त सारिसकेका छन् ।
चुनावी गठबन्धन बनाउँदा सिट बाँडफाँटको विषय छँदैछ प्रधानमन्त्री को बन्ने भन्ने विषय पनि आउने निश्चित छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीका दाबेदार धेरै छन् । शेरबहादुर देउवा बहालवाला प्रधानमन्त्री हुन् । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वउपप्रधानमन्त्री हुन् । प्रधानमन्त्रीमा मुख्यगरी प्रचण्ड र माधव नेपालको दाबी देखिन्छ । चुनावपछि प्रधानमन्त्री बन्न प्रचण्ड सर्तसहित प्रस्तुत भएका छन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड चुनावपछिको प्रधानमन्त्री बन्न चाहन्छन् । उनले सार्वजनिक रुपमा आशय व्यक्त गरिसकेका छन् ।

सम्बन्धित समाचार