काठमाडौँ, २९ असार । श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन् ।
मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन् । बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका हुन् ।
राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ ।
गत शनिबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेसँगै राजपाक्ष प्रदर्शनकारीबाट लुक्दै आएका थिए। उनले बुधबार राजीनामा दिने घोषणा पनि गरेका थिए। यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन ।
राष्ट्रपतिका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेका छन्। उनी अमेरिका प्रस्थान गरेको समाचारमा बताइएको छ ।