काठमाडौं । पाँच मिनेटको अन्तरालमा तीन गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार राति एस्टन भिल्लालाई ३–२ ले हराउँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
घरेलु मैदान इतिहाद रंगशालामा २–० ले पछि परेको स्थिति उल्टाउँदै सिटीले उपाधि रक्षा गरेको हो । जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछाडि पार्दै उपाधि जितेको हो ।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले जितेको यो चौथो उपाधि हो । लिभरपुलले उल्भरह्याम्पटनलाई ३–१ ले जिते पनि उपाधि हात पर्न भने असफल रह्यो ।
पाहुना टोली एस्टन भिल्लाले ३७औँ मिनेटमा माटे क्यासको गोलबाट अग्रता लिएको थियो । ६९औँ मिनेटमा फिलिप कौटिन्होले एस्टन भिल्लाको अग्रता दोब्बर बनाए । यससँगै सिटीको उपाधि रक्षा गर्ने अभियान संकटमा परेको थियो ।
तर, ७६औँ मिनेटमा इल्के गुन्डोगनले गरेको गोलबाट सिटीले सानदार पुनरागमन गर्यो । त्यसको दुई मिनेट बित्न नपाउँदै रोड्रीले बराबरी गोल फर्काए । ८१औँ मिनेटमा गुन्डोगनले अर्को गोल थपेपछि सिटीको उपाधि पक्का भएको हो ।