देशकै नमूना वडा बनाउने मेरो उद्देश्य छ ः अध्यक्ष महर्जन

17.8k Shares

ललितपुर महानगरपालिका वडा नं. २३ वडा अध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको भुयुकाजी महर्जन वडावासीको आँखामा नबिझ्ने जनप्रतिनिधिको रुपमा रहनुभएको छ । उहाँले २३ नम्बर वडाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि वडामा परेको समस्या सहजरुपमा समाधान गर्नुका साथै विकास निर्माण कार्यमा पनि त्यतिकै तल्लिन रहँदै आउनुभएको छ । आफ्नो उद्देश्य भनेको ललितपुर महानगरपालिकाको २३ नम्बर वडालाई देशकै नमूना वडाको बनाउने उद्देश्य रहेको बताउनु भएको छ । आफ्नो वडा कार्यालय नभएको अवस्थामा विभिन्न संघसंस्था, स्थानीयहरुसँग सहकार्य गर्दै आफ्नै २३ नम्बर वडाको नाममा २५ आना क्षेत्रफल जग्गामा वडा कार्यालयसमेत बनाउन सफल हुनुभएको छ । यस्तै विषयलाई समेटेर खोजतलास साप्ताहिकले वडा अध्यक्ष महर्जनसँग गरेको संक्षिप्त कुराकानी ः  

० मेयरले ललितपुर महानगरपालिकामा समायोजन भएका वडाहरुलाई विशेष विकासका बजेटहरु निकासा गरेको कुरालाई तपाईंले कसरी हेर्नु भएको छ ?

महानगरपालिकामा समायोजन भएको १० वटा वडाहरुलाई सुविधा सम्पन्न वडा र असुविधा भएको वडालाई दृष्टिगत गरी अन्य वडाको दाँजोमा केही बजेट बढी दिएकै हो । तर, महानगरपालिकाको अन्य वडा भन्दा १० वटा वडालाई भने महानगरपालिकाको वडा भन्दा हेर्ने दृष्टिकोण भने केही फरक भएको जस्तो मैले महसुस गरेको छु । 

पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?

मेरो पाँच वर्षे काललाई हेर्ने हो भने ३४ वर्षको शिक्षण पेशा अंगालेको र शिक्षण पेशाको अनुभव भएको तर राजनीतिक अनुभव खासै नभए पनि गौरवशाली नेकपा एमाले पार्टी र वडावासीको आग्रहका कारण  वडाअध्यक्षका जिम्मेवारीका लागि टिकट पाएपछि वडा अध्यक्षमा अत्यधिक मतले मलाई विजयी भएँ । तर, वडा अध्यक्ष निर्वाचित भएपछि केही समय काम कसरी गर्ने भन्ने बारे अनुभव बटुल्नतिर केन्द्रीत भई पछि वडावासीको सेवाका लागि कार्य गर्न सहजरुपमा मलाई वडावासीले सहयोग गरेका कारण पनि अहिले खासै त्यस्तो असहज महसुस भएको छैन । मेरो पाँच वर्षे कार्यकालमा मैले आफ्नो वडा कार्यालय भवन नहुँदा पनि वडावासीको कार्यलाई सहज बनाउनका लागि २३ नम्बर वडाका समाजसेवी भरत महर्जनले निःशूल्क रुपमा वडा कार्यालयको लागि आफ्नो घर दिनुभएको थियो । यसरी व्यक्तिले वडावासीको लागि भनेर आफ्नो घरमा वडा कार्यालय राखेर काम गर्दा आफूलाई केही असहज महसुस गरी मैले जसरी पनि वडा कार्यालय बनाउने अठोटका साथ अगाडि बढे । महानगरपालिकाको प्रायः वडाहरु सार्वजनिक जग्गामा निर्माण गरिएको छ । तर, वडा नं. २३ मा वडा कार्यालय बनाउनका लागि उपयुक्त सार्वजनिक जग्गा नभएका कारण जग्गा प्राप्ति ऐनको प्रावधान अनुसार जग्गा अधिकरण प्रक्रियाबाट सिभिल होम्स प्रालिबाट २५ आना जग्गा ललितपुर महानगरपालिका वडा नं. २३ कै नाममा जग्गा ल्याउन सफल भइयो । सो जग्गा उपलब्ध भएपछि महानगर, संघीय सांसद, प्रदेश सांसद, सुमेरु ग्रुप, २३ वडाभित्र रहेका विभिन्न संघसंस्था, व्यक्तिहरुको सहयोगमा महानगरपालिकाकै सुविधासम्पन्न नमुना वडा कार्यालय पहिलो नक्सा पास भवन, अपाङ्ग मैत्री भवन बनाउन सफल बने । 

त्यस्तै, महानगरपालिकाभित्र रहेको प्रत्येक वडामा हेल्थपोस्ट वा आधारभूत स्वास्थ्य केन्द्र रहे पनि आफ्नो वडामा नभएका कारण नेपाल सरकारबाट ६३ लाख उपलब्ध गराई २५ सय स्क्वायर फिटको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका साथै तीन जना स्वास्थ्यकर्मीको दरबन्दीसहित नेपाल सरकारबाट उपलब्ध औषधी र प्राथमिक उपचारका लागि वडावासीलाई सहज बनाउन सफल बने । 

अतिआवश्यक रहेको खानेपानीको समस्या झल्दै आएका वडावासीलाई सहज खानेपानी उपलब्ध गराउनका लागि केयुकेएलसँग सहकार्य गरी बोरिङबाट पानी निकाली सो पानी खानयोग्य बनाएर वडावासीलाई वितरण गर्ने अन्तिम तयारीमा रहेको छ । 

त्यस्तै, विगत वर्षदेखि कर्मनाशा खोलाले खोलाको नजिक रहेको खेतियोग्य जमिन र घरहरुलाई पु¥याउँदै आएको क्षतिलाई मध्यनजर गर्दै संघीय सांसदको पहलमा अधिकार सम्पन्न बागमतीको सहकार्यमा १३ करोड रुपैयाँको कर्मनाशा खोलाको करिडोरको बहाब निर्धारण गरी बहाबको कार्य सम्पन्न गर्न सफल भएको छ ।

आफ्नो आधि जीवन नै शैक्षिक पेशामा लागेका कारण शैक्षिक क्षेत्रको विकासका लागि पनि आफूले धेरै नै काम गर्न सफल बने । वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि शिक्षा क्षेत्रमा पर्ने प्राविधिक शिक्षालगायतका टेक्निकल शिक्षाका लागि जाइकाको झण्डै ६ करोड रुपैयाँको सहयोगमा भवन निर्माण गरी एसईई उत्तिर्ण गरेका निम्न वर्गको विद्यार्थीहरुलाई सीटीईभीटीबाट प्राविधिक शिक्षाका कृषि, अमिन, तिन वर्षे ओभरसियर, होटल मेनेजमेन्टलगायत विभिन्न प्राविधिक कक्षाहरु निःशुल्क रुपमा संचालन गर्नको लागि केही महिनाभित्र भवन तयार भई सो प्राविधिक कक्षाहरु संचालनको तयारीमा रहेको छ । 

यसैगरी, २३ नम्बर वडामा पर्ने खुमलटारदेखि ठेचोसम्म पर्ने सडक साँघुरो भई दैनिक सवारीसाधनको जामका कारण वडावासीलाई आवतजातमा समस्या परेपछि रातोघर सँगै रहेको डाउनटाउनको गेटदेखि नयाँ वडा कार्यालय जाने बाटोसम्म सडक डिभिजन, पर्यटन मन्त्रालय, उपत्यका विकास प्राधिकरणको सहयोगले मूल सडक सिमांकन तथा स्तरवृद्धिको काम सकिसकेको अवस्था छ । सडक स्तरवृद्धिकै लागि मैले मूल सडक छेउको आफ्नो घर पहिला आफैले भत्काई १६ फिट छाडी चौडा बनाउने योजना ल्याएँ । सोही अनुसार मैले आफैले यो कार्य थालनी गरेपछि उपत्यका विकास प्राधिकरणको सहयोगमा वडावासीलाई घरको क्षतिपूर्ति दिलाएपछि अहिले धमाधम घर भत्काई सडक चौडा बनाउने कार्य अन्तिम अवस्थामा पुगेको छ । 

यस्तै, २३ नम्बर वडामा आफू अध्यक्ष बन्नुभन्दा पहिला खासै ढलको व्यवस्था नभएका कारण वडावासीलाई समस्या पर्नुका साथै सडक कालेपत्रे गर्न समेत समस्या पर्दै आइरहेको थियो । यस्तो अवस्थालाई मध्यनजर गर्दै झण्डै ९० प्रतिशत ढल निर्माण कार्य भइसकेको र ढल व्यवस्थित भएका कारण सडकसमेत कालेपत्रे गर्न समस्या नपरेको अवस्था छ । ढल व्यवस्थित भएपछि वर्षायाममा पर्ने पानीको कारण अहिले वडावासीले कुनै समस्या झेल्नुपर्ने अवस्था छैन ।

० भावि योजनाहरु के छन् ?

९० प्रतिशत ढल निर्माण कार्य भइसकेपछि सडकमा हिलो, धुलोको कारण वडावासीलाई समस्या परिरहेको अवस्थामा तत्काल सडकलाई कालोपत्रे गरी त्यस्तो समस्याबाट मुक्त गराउन लागिपरिरहेको छु । ललितपुर महानगरपालिकाकै नमूना वडा बनाउन आफू सधैं लागिपर्ने र आफूले फेरि पनि वडा अध्यक्षको जिम्मेवारी पाएको खण्डमा पाँच वर्षभित्र देशकै नमूना वडा बनाउने लक्ष्य र योजना रहेको छ । वडावासीले हरेक क्षेत्रमा कुनै पनि समस्या नआउने यस वडामा बस्दा आफू सुरक्षित भएको महसुस बनाउने बडा बनाउने मेरो पहिलो उद्देश्य हो । वडावासीको सेवामा चुस्त, दुरुस्त सेवाका लागि सधैं तत्पर रही वडावासीकै सहयोगमा आफू सधैं समर्पित रही अव्यवस्थित पोललाई व्यवस्थित गर्न आफूले सम्बन्धित निकायलाई पहल गरिरहेको छु । 

यस्तै, वडावासीलाई स्वस्थ र निरोगी बन्नको लागि खेलकुदको पनि आवश्यकताको महसुस गर्दै इन्डार बटमेन्टिङ कोर्ट बनाई अहिले सो कोर्टमा खेल भइरहेको अवस्था छ । त्यस्तै, वडा कार्यालय नजिकै विभिन्न एक्सरसाइज गर्ने यन्त्रहरुको उपलब्ध गराई वडावासीलाई पैसा खर्च गरेर अन्य ठाउँमा जानुनपर्ने बनाइएको छ । वडाभित्रका शाखा सडकहरु कालेपत्र बनाउनुका साथै चौडा बनाउने कार्य अगाडि बढाइरहेको छ ।


त्यसैगरी, वडाभित्र रहेका विभिन्न टोल सुधार भवनहरुको निर्माण कार्य भएको, किरिया पुत्री भवनको निर्माण, मन्दिर निर्माण, बुद्धविहार निर्माण, क्लव भवन, सार्वजनिक इनार संरक्षण, सडक वत्ती, गुठी भवन, कृष्णकको लागि विऊ विजनका साथै कृषि उपकरण वितरण, वडा प्रोफाइन कार्य अन्तिम चरणमा पुगेको छ । 

० महानगरको वडाहरुमध्ये नमुना वडा भवन बनाउन सफल हुनुभयो, निर्माण कार्यमा कस्ता समस्या र चुनौतिको सामना गर्नुप¥यो ?

व्यवस्थित वडा कार्यालय बनाउनका लागि मेरो टिमले धेरै समस्याहरु झेल्नु प¥यो । पहिलो त जग्गा कसरी उपलब्ध गर्ने भन्नेमा धेरैं नै समस्या आयो र त्यसलाई धेरै मेहनत गरी जग्गा उपलब्ध गराउन सफल बनियो । तर त्यो जग्गामा जाने बाटोदेखि लिएर भवन निर्माणको कार्य सम्पन्न गर्न धेरै नै समस्या झेल्नु परे पनि निर्माण कार्य सफल बनाउन पाउँदा भने हाम्रो टिमलाई गर्वको महसुस भने भएको छ । जग्गा र बाटोको कार्य सकी भवन निर्माणको लागि आर्थिकदेखि लिएर भौतिक रुपमा पनि धेरै नै समस्याहरु आउने भएपछि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको अध्यक्षतामा भवन निर्माण कमिटी गठन गरी उहाँहरुलाई नै भवन निर्माणको जिम्मेवारी दिएका हौं । यस्ता सार्वजनिक भवन बनाउने कार्यको संयोजकत्व गर्दै धेरै नै अनुभव बटुलिसक्नु भएका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको संयोजकत्वमा भवन निर्माण कार्यको जिम्मेवारी दिएको करिब एक वर्षभित्र सुविधा सम्पन्न भवन बनाउन सफल भएकोमा उहाँहरुको टिमलाई आफूले हृदयदेखि धन्यवाद दिन चाहन्छु । वडा कार्यालय र बाटो निर्माणको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने वडा वासीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । 


सम्बन्धित समाचार