काठमाडौं । कारागारका कैदीबन्दीलाई अप्रत्यासित रुपमा कोरोना संक्रमण देखिन थालेपछि कारागार व्यवस्थापन विभागलाई टाउको दुखाई बनेको छ ।
सयौंको संख्यामा कारागारभित्र बस्ने कैदीबन्दीमै कोरोना देखिएपछि उनीहरुको सुरक्षा र उपचार प्रक्रिया चुनौती थपिएको हो । देशभरमा रहेको कारागारहरुमध्ये १४ कारागारका कैदीबन्दीमा कोरोना देखिएको छ भने तीन कारागारका संक्रमित निको भइसकेका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म पर्सा कारागारमा ३३, बाँकेमा ८, सिरहामा ७, सुनसरीमा ९, केन्द्रीय कारागारमा ६३, सिन्धुपाल्चोकमा २, स्याङ्जामा १, पाँचथरमा १, सप्तरीमा ६, जुम्लाका ४ र ललितपुरस्थित नख्खु कारागारका २ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ जना उपचारमा छन् । नेपालका सबैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । संक्रमितमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलमा ६३ जना छन् । केन्द्रीय कारागारमा ३१ सय बढी कैदीबन्दी छन् ।
कोरोना भाइरसको संक्रमितका कारण निषोधाज्ञा जारी गरे पनि कारागारमा दैनिक नयाँ कैदीबन्दी थपिने क्रम जारी छ । यस्तोमा नयाँ आउने कैदीबन्दीको अनिवार्य कोरोना परिक्षण लागु गरिएको छ । यसबाहेक नयाँलाई छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । कारागारभित्रै क्वारेन्टिन र आइसोलेसन कक्षसमेत निर्माण गरिएको छ । स्वास्थ्यमा समस्या आए तत्काल जाँचका लागि केन्द्रीय कारागारमा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको कारागार विभागले जनाएको छ ।
कोरोना संक्रमण फैलिँदै गएपछि कारागारहरुमासतर्कता अपनाइएको छ । यसअघि कैदीबन्दीका आफन्तलाई भेट्न दिने गरिएको भएपछि हाल भेटघाटमा पूर्ण रुपमा रोक लगाइएको छ । कारागारभित्रै दूरी कायम गर्ने, साबुनपानीले नियमित हात धुनेलगायत सचेतनाका कामहरु पनि भइरहेको छ ।