एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किने भएका छन् । क्लब छाड्न चाहेका मेस्सी अन्तः क्याम्प नाउमै रहने भएपछि उनी सोमबारबाट प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा सहभागी हुने भएका हुन् ।
मेस्सीले शुक्रबार घोषणा गरे कि उनी अर्को सिजनका लागि क्याम्प नाउमै बस्नेछु । उनले कानुनी झमेलालाई छोड्दै आफू क्लबमै बस्ने घोषणा गरेका थिए ।
निःशुल्क स्थानान्तरण हुन खोजेका मेस्सीका लागि क्लबले ७ सय मिलियन युरो रिलिज क्लब तोकेपछि उनका लागि अन्य क्लब सोही रिलिज क्लज तिर्न असम्भव भएको भन्दै बार्सिलोनामै बस्ने निर्णय गरेका थिए ।
बार्सिलोनाले मेस्सीलाई फ्री ट्रान्सफरका लागि जुन १० भित्र भनिसक्नु पर्ने भन्दै, उक्त म्याद नाघेकाले उनका लागि ७ सय मिलियन युरो तोकेको बताएको थियो । अब मेस्सी नयाँ सिजन २०२०÷२१ का लागि बार्सिलोनामै रहनेछन् । यससँगै उनी सोमबारदेखि प्रि—सिजन प्रशिक्षणको लागि क्लबमा फर्किने बताइएको छ ।
उनी पहिलोपटक नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा प्रशिक्षण गर्नेछन् । बार्सिलोनाले च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँगको पराजयपछि मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको थियो ।