काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोट भएका खेलाडी र प्रशिक्षकहरुको कोरोना बीमा गरिदिएको छ ।
जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्नेको तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाउन कोराना बीमा गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए ।
यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस कोभिड—१९ कै कारण अर्को वर्षका लागि सारिएको छ । विभागले १२ खेलाडी र ६ प्रशिक्षक गरि १८ जनाको जनही १ लाख रुपैयाँको बीमा गरेको हो ।
यसरी बीमित हुने खेलाडीमा करातेकी अनु अधिकारी, नविन रसाइली, आचरीका ज्ञानु अवाले, तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार छन् । त्यस्तै भारोत्तोलनकी कमला श्रेष्ठ, सञ्जु चौधरी, पौडीकी गौरिका सिंह र एलेक्स जंग शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठ छन् ।
त्यस्तै बीमा गरिएका प्रशिक्षकमा आर्चरीका कृष्णमाया स्याङ्तान, करातेका दीपक श्रेष्ठ, सुटिङका असिम यादव, भारोत्तोलनका सञ्जय महर्जन, तेक्वान्दोका योङदाल क्वान र जुडोकी देवु थापा छन् ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनका आधारमा ओलम्पिक छनोटका लागि नेपाल ओलम्पिक कमिटीले खेलाडीको छनोट गरेको थियो । तर , कोराना संक्रमण समुदायमा नै फैलन थालेपछि खेलाडीको प्रशिक्षण भने रोकिएको छ ।