काठमाडौं, भदौ २१ । नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो । महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र असार र साउनभित्र ३० जनाको मृत्यु भएको छ । यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ ।
कोरोना महामारीको कारण देशका विभिन्न भागमा भएको लकडाउनले समयमै यातायात नपाउँदा र अस्पतालमा कोेरोना संक्रमण हुन्छ भन्ने डरले घरमै प्रसूति हुन खोज्ने र कुनै उपाय नलागेपछि मात्र स्वास्थ्य संस्थामा जाने कारणले ढिला हुन गई अकालमै ज्यान गएको परिवार कल्याण महाशाखा मातृशिशु शाखाकी प्रमुख डा. पुुण्य गौतमले बताइन् । उनले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङको क्रममा कोरोनासँगै मातृशिशु स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवा प्रभावित भएको जानकारी दिइन् ।
सर्वेक्षणअनुसार स्वास्थ्य संस्थामा नगई घरमा प्रसूति हुने क्रममा जटिलता आई मृत्यु हुने ७ प्रतिशत छन् । ढिला अस्पताल जाँदा बाटैममा मृत्यु हुने ११ प्रतिशत, ढिला गरी अस्पताल पुगेको एक घण्टाभित्र मृत्यु हुने ७ प्रतिशत छन् । स्वास्थ्य संस्थामा पुगेको एकदेखि ४ घण्टाभित्रमा मृत्यु हुने ११ प्रतिशत, चारदेखि २४ घण्टाभित्रमा ३२ प्रतिशतको मृत्यु भएको महाशाखाको तथ्यांक छ । ७३ वटा मृत्युमध्येमा ६० वटा समयमा अस्पताल नपुगेको कारण मृत्यु भएको पाइएको छ ।