महाभारतका ‘भीम’को निधन

19.3k Shares

मुम्बई । लोकप्रिय भारतीय धारावाहिक टेलिशृंखला ‘महाभारत’का चर्चित पात्र भीम उर्फ प्रवीणकुमार सोबतीको निधन भएको छ । उनको सोमबार ७४ वर्षको उमेरमा निधन भएको हो ।

मेरुदण्डको समस्याबाट गुज्रिरहेका उनको हृदयाघातका कारण निधन भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । एक आफन्तले मिडियालाई भने, “उहाँलाई छातीमा संक्रमणको समस्या थियो । राति असहज महसुस गर्न थालेपछि हामीले घरमा डाक्टरलाई बोलायौँ । उहाँको राति १० देखि १०ः३० बजेतिर हृदयाघातका कारण निधन भएको हो ।” 

अभिनेता बन्नुअघि प्रवीणकुमार एथलिट थिए । एथलिटका रूपमा उनले एसियाली खेलहरूमा दुई स्वर्णसहित चार पदक जितेका थिए । राष्ट्रमन्डल खेलहरूमा रजतपदक जितेका थिए । दुई ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

पछि उनी अभिनयमा आए र ३० भन्दा बढी चलचित्रमा काम गरे । उनले निभाएका भूमिका मध्ये बीआर चोपडाको महाभारतको भीम चर्चित पात्र हो ।

अभिनय करियरपछि उनी राजनीतिमा प्रवेश गरे । आम आदमी पार्टीबाट सन् २०१३ मा दिल्ली विधानसभाको चुनाव लडे । तर, हारे । त्यसपछि २०१४ मा उनी भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार