पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या बढ्दै गइरहेको पाइएको छ । पाठेघरको समस्या समाधान र पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ र अन्य स्त्री रोगसम्बन्धी स्त्री रोग विशेषज्ञ डा. समिधा अर्पित श्रेष्ठसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० स्त्री रोग के हो ?
स्त्री रोग भन्नाले विशेष गरी पाठेघरसम्बन्धी समस्या निम्त्याउने रोगलाई स्त्री रोग भनिन्छ । पाठेघरको अण्डा बनाउने ठाउँलाई ओभरिज भनिन्छ । पाठेघर अथवा पाठेघरको अण्डा बनाउने ठाउँमा केही समस्या देखा परेको छ भने त्यसलाई पनि स्त्री रोग भन्ने गरिन्छ । त्यस्तै अर्को स्त्री रोगको समस्या भनेको पाठेघरमा गन्हाउने पानी बग्ने, योनीमा चिलाउने, महिनावारी ठिक समयमा नहुने जस्तो महिनामा दुई—तिन पटक हुने वा ६—६ महिनामा एक चोटी हुने जस्ता समस्या छ भने त्यो पाठेघरसम्बन्धी समस्या वा स्त्री रोगको समस्या भएको बुझ्नुपर्छ ।
० पछिल्लो समय महिलाहरुमा पाठेघरका समस्या धेरै नै देखिने गरेको छ, के कारणले यस्तो समस्या देखा पर्छ ?
पठेघर भनेको महिलाको एउटा महत्वपूर्ण अंग हो । उमेर अनुसार पाठेघरमा परिवर्तन आउने गर्छ । महिनावारी जब (Puberty) सुरु हुन्छ । त्यतिबेला महिनावारी समयमा नभएर क्ष्चचभनगबिच ःIrregular Mensturation को समस्या हुनसक्छ । यसको कारण २० देखि २२ वर्षको उमेरसम्म हुन्छ, जुन सामान्य मानिन्छ । पछिल्लो समयको लकडाउनको समयमा बढी ल्यापटप, मोवाइलको रेडियसन, खानपिनको खडबढी, शारीरिक व्यायामको कमीले गर्दा युवतीहरुमा महिनावारीको समस्या देखा पर्ने गर्छ । युवतीहरुले समस्या आएपछि चेकजाँच गर्ने क्रममा Polycystic Ovarian Syndrome (PCOS) देखिएको छ ।
० पछिल्लो समय कस्तो खाले समस्या लिएर महिलाहरु उपचारका लागि आउने गर्छन् ?
प्रायः महिलाहरु सेतो फोहोर गन्हाउने पानी, योनी चिलाउने समस्या, महिनावारी गडबढी हुने, पेट दुख्ने, फेमेली प्लानिङ, सुरक्षित गर्भपतन, पाठेघर झर्नेलगायतका समस्या लिएर प्रायः महिलाहरु उपचारका लागि आउने गर्छन् ।
० पाठेघरमा समस्या नआउनका लागि कस्तो जीवनशैली अप्नाउनुपर्छ ?
पठेघर सुरक्षित राख्नको लागि महत्वपूर्ण कुरा भनेको सरसफाईमा ध्यान दिने, एक व्यक्तिभन्दा बढीसँग असुरक्षित यौन सम्पर्क (मल्टीपल सेक्सीयोल पार्टनर) नराख्ने । यदि गर्नै परेको खण्डमा कण्डम प्रयोग गर्ने, प्रत्येक ६—६ महिनामा पाठेघरको चेकजाँच गराउने, । दुई वा दुई भन्दा बढी बच्चा जन्माउने महिलाहरुमा प्रायः आइरनको कमी देखिने गर्छ । त्यसैले स्वस्थ खानपिन, नियमित व्यायाम गर्नुपर्छ ।
० जनचेतनाको कमीका कारण पनि पाठेघरको समस्या बढी देनिनुको मुख्य कारण हो ?
हो । नेपाली परिवेशको हिसावले ग्रामीण भेगका महिलाहरुमा लजालु स्वभावका कारण आफूमा भएको समस्या लुकाएर राख्ने कारणले पनि धेरै महिलाहरुमा पाठेघरको समस्या देखिने गरेको छ । त्यसैले पनि पनि ग्रामीण भेगमा गएर महिलाहरुलाई पाठेघरसम्बन्धी समस्याको विषयलाई लिएर जनचेतनामूलक कार्यक्रमहरु लानुपर्ने आवश्यकता रहेको छ । पाठेघरको समस्या लिएर आउने धेरैजसो ग्रामीण भेगकै भएका कारण पाठेघर कसरी जोगाउने, समस्या आएको खण्डमा कस्ता उपाय अप्नाउनेलगायतका विषयलाई लिएर ग्रामीण भेगमा रहेको महिलाहरुमा जनचेतनामूलक कार्यक्रमहरु लानु अत्यावश्यक भइसकेको छ ।
० पाठेघर झर्ने भनेको के हो ? यो कस्तो अवस्थामा हुने गर्छ ?
पठेघर झर्ने भनेको टुक्रुक्क बस्दा योनीबाट केही झरेको जस्तो अनुभव हुने गर्छ । कतिले खोक्दा, भारी बोक्दा, पिसाव चुहिने समस्या हुन्छ, यो नै पाठेघर खस्ने समस्या हो । महिलाले धेरै बच्चा जन्माउँदा, सुत्केरीमा स्याहारसुसार राम्रो नहुँदा र छिट्टै उकालो ओरालोमा भारी बोक्ने महिलाहरुमा विशेष गरी पाठेघर झर्ने समस्या बढी हुने गरेको छ ।
० पाठेघर झर्ने समस्याका उपचार विधि के होला ?
पठेघर झर्ने समस्याको पहिलो उपचार भनेको पाठेघर झर्ने समस्या कसरी समाधान गर्ने भन्ने नै हो । अर्को समाधान गर्ने भनेको रिङ पेसरी राखेर पनि उपचार गरिन्छ । यस्तो विधि अप्नाउँदा पनि समस्या देखिएको अवस्थामा भने अप्रेशन गरेर नै समस्या समाधान गर्नुपर्ने हुन्छ ।
० पाठेघरमा क्यान्सर कसरी हुन्छ ? र यसको उपचार सम्भव छ कि छैन ?
बारम्बार योनीबाट फोहोर पानी बग्ने भएमा इन्फेक्सनका कारण पाठेघरको मुखमा घाउ हुन्छ । त्यो घाउमा Human Papilloma (HPV) नामक भाइरस देखा पर्छ । समयमै एचपीभीको उपचार नभएमा यसले विस्तारै संक्रमण गर्दै गई पाठेघरको मुखको क्यान्सरसमेत गराउँछ । तर, पछिल्लो समय यसको समस्याको समाधानका लागि भ्याक्सिन पनि आइसकेको छ । यो भ्याक्सिन ९ वर्षदेखि ४५ वर्षीया महिलासम्मलाई लगाउन मिल्छ । जसले गर्दा यो भ्याक्सिनको कारणले पाठेघरको मुखको क्यान्सरमा कमी ल्याउन सकिन्छ ।
० पाठेघरमा ट्युमरको समस्या कसरी आउँछ ?
पठेघरमा एउटा पाठेघर हुन्छ अर्को अण्डा बनाउने ठाउँ हुन्छ । पाठेघरमा पनि ट्युमर पलाउन सक्छ, अण्डा बनाउने ठाउँमा पनि ट्यूमर पलाउन सक्छ । यो पनि वंशाणुगत हिसावले पनि हुनसक्छ । यस्तो अवस्थामा वर्षको एकचोटी पाठेघरका भिडियो एक्सरे गरेर ट्यूमर छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । ५ सेन्टिमिटर भन्दा तल छ भने केही गर्नुपर्दैन त्यतिकै छाड्न मिल्छ, तर ५ सेन्टिमिटरभन्दा माथि छ भने अप्रेन गरेर झिक्नुपर्छ । यो क्यान्सर पनि हुन सक्छ नहुन पनि सक्छ, क्यान्सर देखियो भने त्यही अनुसारको उपचार विधि अप्नाउनुपर्छ । क्यान्सर होइन भने साधारण अप्रेशन गरेर झिक्नुपर्छ ।
० सुमेरु अस्पतालमा गाइनोसम्बन्धी कस्ता—कस्ता उपचारहरु हुने गर्छ ?
सुमेरु अस्पताल धापाखेलमा बच्चा डेलिभरी गर्ने, पाठेघरको पानीको जाँच, फेमिली प्लानिङ ः नरप्लान्ट झिक्ने राख्ने, कपर्टी झिक्ने राख्ने, डिपो लगाउने, १२ हप्तासम्मको सुरक्षित गर्भपतन गराउने, बाँझोपनको उपचार, एचपीभी भ्याक्सीनको व्यवस्था, पठेघरको टुयूमरको अप्रेशन, पाठेघर झरेको अप्रेशनलगायत सम्पूर्ण उपचारहरु गरिन्छ ।