काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन् । उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ ।
तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् ।