काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरूको आज संयुक्त बैठक बस्दै छ ।
कोरोना महामारी रोकथाम गर्न भन्दै सवारीसाधनमा जारी जोरबिजोर प्रणाली र संक्रमणको समीक्षा गरी नयाँ आदेश जारी गरिने तयारी छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैठक बसेर आजै नयाँ आदेश जारी गरिने जानकारी दिए । ‘‘बैठक दिउँसो ३–४ बजे बस्छौँ । अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग छलफल भइरहेको छ,” उनले बाह्रखरीसित भने ।
प्रजिअ रिजालका अनुसार जोरबिजोरले सार्वजनिक सवारीमा बढाएको भिडभाडको गुनासोबारे छलफल भइरहेको छ । ‘‘सर्वसाधारणलाई सहजीकरण गरी भिडभाड कम गर्ने गरी नयाँ आदेश जारी गर्नेछौँ । सबै किसिमका सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेको बेलामा कसरी भिडभाड कम गर्न सकिन्छ भन्ने निकाससहितको प्रावधान ल्याइनेछ,” प्रजिअ रिजालले भने ।