काठमाण्डौ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दशैँ मनाउन गाउँ फर्कन थालेका हुन् ।
काठमाण्डौ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाडीमा यात्रुको चहलपहल बढेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन् ।
नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र फर्पिङ नाकाबाट पाँच हजार भन्दा धेरै यात्रु बाहिरिएका छन् । त्यस्तै थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकामा पनि यात्रु बाहिरिने गरेका छन् ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयकाअनुसार दशैँमा घर जाने यात्रुका लागि उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यतिबेला कुनै अवरोध छैन ।
नागढुंगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका सबै मुख्य सडकमा दुईतर्फी नै सडक सञ्चालन भैरहेका छन् ।
यसैबीच घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाडा तिर्न र गाडीधनीलाई गाडीको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।