काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि देशभरको मौसममा क्रमिक रूपमा सुधार आउने जनाएको छ। शुक्रबार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ र शनिबार रातिदेखि देशभरको मौसम पूर्ण रूपमा सुधार हुने अनुमान छ।
मौसमविद् रोजन लामिछानेले बिहीबारको पूर्वानुमानबारे जानकारी दिँदै शुक्रबार वर्षाको गतिविधि बढ्ने तर शनिबारदेखि मौसम सफा हुँदै जाने बताएका छन् ।पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा बढी वर्षा भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मात्र पानी परेको छ। डडेल्धुरा र कैलाली आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। बिहीबार बिहान इलाम, झापा, सर्लाही, महोत्तरी र धनुषा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
बिहीबार दिउँसो पहाडी भूभागका ५० देखि ८० प्रतिशत स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा १० देखि ३० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।