चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प

790 Shares

काठमाडौं । तीन दिनको लगातारको झरी र प्राकृतिक विपत्तिका कारण उत्तरी छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्णरूपमा ठप्प भएको छ । नेपालीहरुको महान चाड पर्वहरु दशै, तिहार, छठलगायतका नजिकिदै गर्दा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला टुटेको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ । तर, अब प्रमुख तीनवटै नाका जाने सडक र संरचना भत्किएपछि स्थलमार्गबाट हुने ठूलो परिमाणको व्यापारिक कारोबार असम्भव बनेको छ ।
पहिरोको जोखिम देखाउँदै चीनले सबैभन्दा पुरानो तातोपानी–खासा नाका यसअघि नै बन्द गरेको थियो । त्यसपछि १० भदौमा भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनायो ।
यी दुई मुख्य नाका बन्द भएपछि नेपाल–चीन व्यापारको भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने महत्त्वपूर्ण पुलका एप्रोच सडक बगाएपछि कोरला नाका पुग्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । कोरला नाका र त्यहाँको भन्सार कार्यालय सुरक्षित भए पनि बेनी–जोमसोम सडक खण्डका पुलमा क्षति पुग्दा मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ ।

सम्बन्धित समाचार