फतुवाको कौडा अखडा ः जुवा चल्छ, प्रहरीको मौनता किन ?

471 Shares

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–३, मेवा गाउँस्थित पोखरीछेउमा लामो समयदेखि ठूलो परिमाणमा कौडा जुवा सञ्चालन भइरहेको भन्दै स्थानीय बासिन्दामा चिन्ता बढेको छ। स्थानीयका अनुसार यहाँ तासको जुवा नभई दैनिकजसो कौडा खेल हुने गरेको छ र खेलमा ठूलो रकमको हारजित हुने गरेको बताइन्छ। जुवा सञ्चालनमा ‘रञ्जित’ नाम गरेका व्यक्ति संलग्न रहेको स्थानीयको भनाइ छ । सबैभन्दा गम्भीर विषय भनेको यस्तो गतिविधि स्थानीय तहमा खुलेआम चलिरहेको भनिए पनि प्रहरीको प्रभावकारी हस्तक्षेप नदेखिनु हो। उक्त क्षेत्र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर मातहतको प्रहरी चौकी मेवाको कार्यक्षेत्रमा पर्छ। स्थानीय बासिन्दाका अनुसार जुवा अखडाबारे इलाका प्रहरी कार्यालयका प्रमुखदेखि प्रहरी चौकीका प्रमुखसम्म पटक–पटक जानकारी गराउँदा पनि नियन्त्रण वा पक्राउको प्रभावकारी प्रयास नभएको गुनासो छ।
स्थानीयले घुमुवा प्रहरी हवल्दार धिरेन्द्रकुमार यादव जुवा सञ्चालन हुने समयमा त्यहाँ उपस्थित हुने गरेको, गस्ती टोलीका रूपमा जाने असई गणेश यादव , प्रहरी चौकी मेवाको असई श्रीचन महत्तोको समेत सहयोग रहने गरेको आरोप लगाएका छन्। त्यस्तै प्रहरी निरीक्षकसमेत उक्त स्थानमा जाने गरेको र निरीक्षक पुगेका दिन जुवा सञ्चालक पक्षले खसी काटेर भोज गर्ने गरेको दाबी स्थानीयको छ। छानबिनमार्फत सत्य सार्वजनिक हुनुपर्छ। तर आरोपमा सत्यता छ भने जुवा सञ्चालनमा सहयोग वा संरक्षण गर्ने जोसुकै व्यक्ति भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ।
स्थानीयका अनुसार यो सामान्य जुवा खेल्ने ठाउँ नभई दैनिक ठूलो रकमको कारोबार हुने ‘मिनी क्यासिनो’जस्तै अखडा बनेको छ। यस्तो गतिविधिले स्थानीय समाजमा आर्थिक तथा सामाजिक समस्या निम्त्याउन सक्ने भएकाले प्रहरी प्रशासनले यसलाई सामान्य विषयका रूपमा लिनु हुँदैन।त्यसैले जुवा अखडा सञ्चालन भइरहेको हो कि होइन, त्यहाँ को–को संलग्न छन्, प्रहरीको भूमिका के छ र स्थानीयले लगाएका ‘सेटिङ’ तथा संरक्षणका आरोपमा कति सत्यता छ भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले तत्काल छानबिन गर्नुपर्छ।
कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्न उठ्ने अवस्था आउनु आफैंमा गम्भीर विषय हो। त्यसैले प्रहरी प्रशासनले स्थानीयको गुनासोलाई बेवास्ता नगरी सत्यतथ्य सार्वजनिक गरोस् भन्ने अपेक्षा छ।
स्थानीय बासिन्दा
फतुवा विजयपुर–३, रौतहट

सम्बन्धित समाचार