तस्करलाई लाखौँको ‘लाइन’ !, झरओखर नाकामा रात परेपछि खुल्छ तस्करीको बाटो ?

355 Shares

बारा । भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ क्षेत्रअन्तर्गत पर्ने झरओखर नाकामा सर्वसाधारणका लागि कडाइ र तस्करीमा संलग्न कारोबारीका लागि सहज वातावरण बनेको आरोप सार्वजनिक भएको छ। स्थानीय तथा स्रोतहरूका अनुसार दिनको समयमा घरायसी प्रयोजनका लागि सामान्य सामान बोकेर आउने सर्वसाधारणलाई समेत निगरानी र रोकतोक गरिने भए पनि साँझपछि सीमावर्ती क्षेत्रमा चहलपहल घट्दै जाँदा अवैध सामान ओसारपसार बढ्ने गरेको दाबी गरिएको छ।
झरओखरबाट कपडा, किराना तथा अन्य उपभोग्य वस्तु भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याउने क्रम बढेको स्थानीयको भनाइ छ। यस्तै आरोपबारे पछिल्ला महिनाहरूमा सार्वजनिक भएका रिपोर्टमा पनि झरओखरलगायत गोलागंज, कवलपुर र अमरपुर नाकाबाट कपडा, जुत्ता–चप्पल तथा किराना सामानको अवैध ओसारपसार भइरहेको दाबी गरिएको छ। यद्यपि, सुरक्षाकर्मीको प्रत्यक्ष मिलेमतो वा रकम असुलीसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
स्थानीयको दाबीअनुसार झरओखर नाकामा दिनको समयमा सुरक्षा जाँच कडा हुन्छ। सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने चिनी, तेल वा अन्य सामान्य सामानसमेत रोकतोकमा पर्ने गरेको गुनासो छ। तर राति सर्वसाधारणको आवतजावत कम भएपछि साइकल, मोटरसाइकल तथा अन्य माध्यमबाट सामान भित्र्याउने गतिविधि बढ्ने गरेको उनीहरूको आरोप छ।बिहान पुनः सर्वसाधारणको आवतजावत सुरु हुने समयसँगै यस्तो गतिविधि रोकिएजस्तो देखिने गरेको स्थानीयको भनाइ छ। यदि यस्तो दाबी सत्य हो भने सीमा सुरक्षा र भन्सार नियन्त्रणको उद्देश्यभन्दा ठीक उल्टो समय हेरेर निगरानी सञ्चालन भइरहेको अवस्था देखिनेछ।
सीमाबाट भन्सार छली सामान भित्र्याउँदा यसको प्रत्यक्ष असर सरकारी राजस्वमा पर्छ। दैनिक कति मूल्य बराबरका सामान भित्रिन्छन् र त्यसबाट राज्यले कति राजस्व गुमाउँछ भन्ने आधिकारिक तथ्यांक सार्वजनिक नभएसम्म ‘दैनिक लाखौँ राजस्व गुमेको’ दाबीलाई ठोस अंकमा पुष्टि गर्न सकिँदैन। तर ठूलो परिमाणमा नियमित रूपमा अवैध ओसारपसार भइरहेको प्रमाणित भएमा त्यसले राजस्व प्रणालीसँगै वैध व्यवसाय गर्ने व्यापारीमाथि समेत असर पार्न सक्छ। सरकारी तथ्यांकअनुसार भन्सार प्रक्रिया पूरा नगरी विदेशबाट नेपालतर्फ ल्याइएका मालवस्तु नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा दाखिला गर्ने कानुनी व्यवस्था छ।
स्थानीय स्रोतहरूले झरओखर क्षेत्रमा केही कारोबारीले सुरक्षा निकायसँग ‘सेटिङ’ मिलाएर सामान भित्र्याउने गरेको आरोप लगाएका छन्। उनीहरूले भारतीय नागरिकसहित केही नेपाली कारोबारीको नामसमेत लिएका छन्। तर ती व्यक्तिहरू तस्करीमा संलग्न रहेको वा सुरक्षा निकायसँग आर्थिक मिलेमतो गरेको भन्ने आरोपको स्वतन्त्र पुष्टि भएको छैन। यस्ता आरोपमा नाम जोडिएका व्यक्तिको पक्षसमेत अनुसन्धानको क्रममा लिनु आवश्यक हुन्छ। प्रमाणबिना व्यक्तिलाई तस्कर वा अपराधीका रूपमा निष्कर्ष निकाल्नु उचित हुँदैन। त्यसैले अनुसन्धानको मुख्य प्रश्न कसले सामान ल्यायो मात्र होइन, सामान कसरी सीमा पार भयो र सुरक्षा संयन्त्रले त्यसलाई कसरी देखेन ? भन्ने हुनुपर्छ।
राज्यले सीमा सुरक्षा र चोरी–तस्करीको नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ। तथापि, तस्करहरूले पहिले तस्करी गर्नका लागि सशस्त्र प्रहरीलाई ‘सेटिङ’ गरी मिलाएपछि मात्रै नेपाल प्रहरीलाई मिलाउने गरेका छन्।झरओखरमा नेपाल प्रहरीको तर्फबाट वरिष्ठ सई देवबहादुर बिष्ट रहेका छन् भने सशस्त्र प्रहरी बलको तर्फबाट सई गणेश चौधरी प्रमुख छन्। बीओपी गोलागंज मातहतको यो सशस्त्र प्रहरीको बेस हो। गोलागंज बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्ल छन्। उनले चोरी–तस्करी नियन्त्रणभन्दा पनि तस्करी गराउन छुट दिइरहेका छन्। उनी हाजिर भएदेखि नै विगतका बदनाम घुमुवा, जो बारम्बार कहिले कारबाहीका लागि त कहिले अनुसन्धानका लागि बाहिनी र हेडक्वार्टर तानिएका छन्, तिनै घुमुवासँग भेटघाट गर्ने, उनीहरूको सल्लाह र ‘सेटिङ’अनुसार तस्करलाई लाइन दिने गरेको पनि खुल्दै आएको छ। विगतमा तस्करसँग मिलेर लाइन दिने कार्यालय प्रमुख हुन् या ‘सेटिङ’ मिलाउने घुमुवा, तिनलाई बाहिनीदेखि हेडक्वार्टर तानेर छानबिन गर्ने गरिन्थ्यो। तर अहिले त्यो पनि रोकिएको छ।
सीमा सुरक्षा तथा अवैध ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले कुनै सीमावर्ती क्षेत्रमा लामो समयसम्म तस्करीको आरोप दोहोरिइरहेको छ भने सम्बन्धित कमान्ड संरचना, गस्ती, निगरानी, बरामदगीको विवरण र खुफिया सूचनाको प्रयोगबारे माथिल्लो तहबाट समीक्षा आवश्यक देखिन्छ। झरओखर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय युनिटका अधिकारीको नामसमेत सार्वजनिक चर्चामा आएको छ। झरओखर नाकाबाट तस्करीको लाइन पाउनेहरूमा भारतीय नागरिक दीपक, राजु, अरबिन्द तथा नेपालीहरू बलराम, भोला र सुनिल मुख्य छन्।
यसअघि पनि गोलागंज क्षेत्रका नाकाबाट तस्करी बढेको आरोप सार्वजनिक हुँदै आएको छ। हालैका रिपोर्टहरूले झरओखरसहितका नाकामा कपडा तथा दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसारको स्थानीय दाबी उल्लेख गरेका छन्। यदि ठूलो परिमाणको सामान निरन्तर भित्रिइरहेको छ र सुरक्षाकर्मीले साना खेप मात्र नियन्त्रणमा लिएर प्रचार गरिरहेका छन् भन्ने आरोप सत्य हो भने त्यो अझ गम्भीर विषय हुनेछ। झरओखरको सीमामा खटिएको सुरक्षा संयन्त्रले अवैध कारोबार रोकिरहेको छ कि नियन्त्रणको नाममा सर्वसाधारणलाई मात्र कडाइ गरेर संगठित कारोबारलाई ठाउँ दिइरहेको छ ?

सम्बन्धित समाचार