वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

790 Shares

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६९८ औँ हप्तामा तिलगङ्गा पारीपट्टी पहेँलो पुल क्षेत्रमा सफाइ गरिएको छ ।

भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा पारिपट्टि पहेँलो पुलमा वाग्मती किनार कालोपत्र सडकतर्फका झारपात, घाँसलगायत कुहिने फोहरलाई जमिनमुनि खाडल खनेर गाडिएको छ । यसरी गाडिएको फोहरले नदी किनारमा रोपिएको बिरुवालाई मलको काम गर्ने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

यसैगरी, काँचका फुटेका सिसा, बोतल, प्रयोग भएका सुई, कार्पेट गरी करिब एक मेट्रिकटन नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले जानकारी दिए । अर्को हप्ताको सरसफाइ कार्यक्रम सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ ।

 विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ महाअभियान जारी छ । वर्षा, जाडो, चाडपर्व, भूकम्प, कोरोना, बन्दाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान नरोकिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिए।

 महाअभियानबाट प्रेरणा पाएर काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भएको छ । यसैगरी चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान सुरु भएको छ । 

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेका छन् । 

सम्बन्धित समाचार