काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले प्रस्तुत गरेको सो प्रस्तावमा छलफल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको जवाफपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
मन्त्री मेतहताले सोसम्बन्धी आवश्यक कानुन यही आर्थिक वर्षभित्र पेस गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएकाले प्रतिबद्धताबमोजिम कानुन ल्याउन सरकारलाई निर्देशन दिँदै सोको आवश्यक अनुगमनका सभाको सम्बन्धित समितिलाई निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन् । सभाको आगामी बैठक यही असोज ५ गते सोमबार अपरान्ह १ः१५ मा बस्नेछ ।