काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्।
विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ ।
यो सूचीका अनुसार अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौं र आयरल्यान्डको डब्लिन छैटौं स्थानमा रहेका छन् । सातौं स्थानमा अमेरिकाको बोस्टन, सान होजे आठौं स्थानमा, जापानको टोकियो नवौं स्थान र स्विट्जरल्यान्डको ज्युरिख दशौं स्थानमा रहेका छन् ।
नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ। काठमाडौं यो स्थानमा पाँच वटा इन्डेक्सको आधारमा रहेको हो । काठमाडौं अर्थतन्त्रमा ६७० औं स्थानमा, मानवीय क्षमतामा ५६२औँ स्थानमा, जीवनस्तर ८४० औँ स्थानमा, वातावरणमा ६३९ स्थानमा र शासनमा ६३५औं स्थानमा रहेको छ ।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र मूल्यांकनमा पाँचवटै आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको हो। यसमा कुनै एउटा पक्षको मात्र अवस्था नभई सहरको आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवनस्तर, वातावरण र शासनको समग्र प्रदर्शनलाई समेटिन्छ।
सूचीमा न्यूयोर्कले १०० अंकसहित पहिलो स्थान पाएको छ भने लन्डनले ९८.८ र पेरिसले ९३.४ अंक पाएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा विश्वमै जीवनस्तरका लागि सबैभन्दा राम्रो सहर बनेको छ। यो शहर समग्रमा भने ४५ औँ स्थानमा छ ।