मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

355 Shares

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो । 

विदेशी पर्यटकले होटलमा चेक–इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट/भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

नेपाल आएका विदेशी नागरिकहरूले विभागको मोबाइल एपमा लगइन गरेर राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरमा जोडिने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्कहरू राखेर यो एप डाउनलोड तथा प्रयोगबारे विदेशी नागरिकहरूलाई सहजीकरण गर्ने तयारी भइरहेको जानकारी दिए । 

महानिर्देशक तिवारीले विपद्को समयमा करिब १ हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगहरूले खोजी गर्न आग्रह गरेको बताए । 

तर अध्यागमनको प्रणालीमा ’इन/आउट’ भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भई होटलमा बसेका बाहेक सबैको यकिन अवस्था तत्काल पत्ता लगाउन कठिनाइ भएको उनले बताए । 

विभागको मोबाइल एपमा जोडिएपछि विपद् वा संकटका बेला को कहाँ छ भनेर तत्काल ’ट्रेस’ गर्न र उद्धार गर्न सहज हुने महानिर्देशक तिवारीले उल्लेख गरे । 

सम्बन्धित समाचार