बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

877 Shares
 
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको अकल्पनीय बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले विपद्को घडीमा मित्रराष्ट्रहरूले प्रस्ताव गरेको उद्धार र राहत सहयोग नस्वीकार्दा धेरै मानवीय क्षति हुन पुगेको दाबी गरे ।
जलवायु परिवर्तनका कारण आएको बाढीबाट ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसद घिमिरेले बेपत्ता भएकाहरूको तीव्रताका साथ खोजी गर्न सरकारसँग माग गरे । बाढीका कारण बाबुआमा र दाजुभाइ गुमाएर असहाय बनेका बालबालिकाको बसोबास र शिक्षाको सम्पूर्ण दायित्व अभिभावकका रूपमा राज्यले लिनुपर्ने उनको भनाइ थियो ।
विपदको समयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा सत्ताधारी दलका सभापति (रवि लामिछाने) ले बैठक डाकेको प्रति कडा टिप्पणी गरे ।
सरकार सत्ताधारी दलका सभापतिको नियन्त्रणमा छ कि छैन भन्ने प्रश्न उठाउँदै उनले सर्वदलीय बैठकको निर्णय अनुसार बाढी प्रभावित क्षेत्रको अनुगमन र क्षति सम्बोधनका लागि तत्काल उच्चस्तरीय विशेष संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

भाद्र २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको स्मरण गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । आन्दोलनकारीले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दाप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै घिमिरेले वर्तमान सरकार गठन भएको छ महिना पुग्न लाग्दा पनि सुशासनको क्षेत्रमा कुनै ठोस काम गर्न नसकेको आलोचना गरे । ‘सामाजिक सञ्जालमा स्टाटस लेख्दैमा र मन्त्रीहरूले दादागिरी गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन,’ उनले भने, ‘विगतका पदाधिकारीलाई गाली र आतङ्क सिर्जना गर्नेबाहेक सरकारले कुनै काम थालनी गरेको छैन ।’
विगत ३५ वर्षमा विकास नै नभएको भन्ने भ्रामक प्रचारको खण्डन गर्दै घिमिरेले अघिल्ला सरकारहरूले जलविद्युत्, सडक, पुल, विमानस्थल, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशाल पूर्वाधार खडा गरेको तथ्यांक प्रस्तुत गरे ।
कांग्रेस नेतृत्वको सरकारले देशमा हजारौँ मेगावाट विद्युत्, लाखौँ किलोमिटर सडक र दर्जनौँ विमानस्थल निर्माण गरेको दाबी गर्दै उनले वर्तमान सरकारलाई पूर्वाधारका नयाँ पाँचवर्षे योजना सार्वजनिक गर्न चुनौती दिए ।
सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो शुभकामना रहेको बताउँदै सांसद घिमिरेले कानुन निर्माण र विकासका काममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे ।
तर, अरूलाई हिलो छ्यापेर र घमण्ड गरेर सरकार सफल हुन नसक्ने भन्दै उनले स्टन्टबाजी छोडेर काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सम्बन्धित समाचार