काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ ।
अमेरिकास्थित गैरनाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शनमार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद् र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने जनाएको छ ।
प्रधानमन्त्री शाहले राष्ट्रसंघको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शनमार्फत ‘जलवायु न्याय नेपालका लागि किन आवश्यक छ?’ भन्ने सन्देश विश्वसामु राख्ने तयारी गरेको हो ।
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तिनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन् ।
भिजिट नेपालका अध्यक्ष राजिब राजभाटले नेपालजस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताएका छन् ।
उनका अनुसार नेपाललाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण, सुरक्षित पूर्वाधार, हिमाली क्षेत्रको संरक्षण र जलवायुजन्य विपद् सामना गर्न सक्ने क्षमता विकासका लागि अन्तर्राष्ट्रिय समुदायको ठोस साथ आवश्यक छ ।
सेप्टेम्बर २४ को प्रदर्शन शान्तिपूर्ण र मौन रहनेछ। सहभागीहरूले प्लेकार्ड र सन्देशमार्फत नेपालको जलवायु जोखिम तथा जलवायु न्यायको माग विश्व नेताहरू र अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने तयारी गरेका छन् ।
यस अभियानले जलवायु न्यायसँगै नेपालको पुनःउत्थान र पुनर्निर्माणमा पर्यटनको भूमिकालाई पनि जोडेको छ। विपत्तिपछि सम्पूर्ण नेपाललाई असुरक्षित ठानेर भ्रमण रद्द नगर्न तथा खुला र सुरक्षित रहेका गन्तव्यमा जिम्मेवार रूपमा यात्रा गर्न अन्तर्राष्ट्रिय पर्यटकलाई आग्रह गरिएको छ ।
पर्यटकले नेपालमा गर्ने खर्च होटलमा मात्रै सीमित हुँदैन। त्यसबाट पथप्रदर्शक, भरिया, चालक, रेस्टुरेन्ट, किसान, हस्तकलाकर्मी, स्थानीय पसल, साना व्यवसाय र तिनमा आश्रित हजारौँ परिवारको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुग्ने भएकाले ‘नेपाल भ्रमण गरौँ, स्थानीय समुदायलाई साथ दिऔँ र नेपाललाई पुनः उभिन सहयोग गरौँ’ भन्ने सन्देश पनि अभियानले अघि सारेको छ ।
संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन गर्ने यो योजना आज अमेरिकाको डलासमा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमबाट सार्वजनिक गरिएको हो ।
डलासस्थित रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा नेपालप्रेमीहरू सहभागी भएका थिए ।
नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सहभागीहरूले दीप बाले। अझै बेपत्ता रहेकाहरूको सकुशलताको कामना गर्दै प्रार्थना गरियो भने प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गरियो ।
तर डलासको कार्यक्रम श्रद्धाञ्जलीमा मात्रै सीमित रहेन । ज्यान गुमाएकाहरूको सम्झनाबाट सुरु भएको कार्यक्रम नेपालको भविष्य र जलवायु न्यायको बहसमा जोडियो। त्यही क्रममा डलासबाट उठेको आवाजलाई अब संयुक्त राष्ट्रसंघ मुख्यालयसम्म पुर्याउने घोषणा गरिएको हो।
भिजिट नेपालका सदस्य तथा कार्यक्रम सञ्चालक किरण गिरीले विपत्तिको समयमा नेपाललाई सम्झनु मात्र नभई पुनः उभिन सहयोग गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए।