झापामा सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न, सामान भित्र्याउनेदेखि ‘बरामद’ देखाउनेसम्म एउटै संयन्त्र ?

964 Shares

झापा । पूर्वी नेपालको भारतसँग जोडिएको झापा सीमा क्षेत्रमा पछिल्ला दिनमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको विवरण सार्वजनिक भइरहेका छन्। तर, सीमा सुरक्षाको जिम्मेवारी पाएको निकायले एकातिर तस्करीका सामान बरामद गरेको प्रचार गरिरहँदा अर्कोतर्फ सीमा पार गराएर केही किलोमिटरभित्र पुगेपछि मात्रै सामान नियन्त्रणमा लिइएको घटनाले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
पछिल्ला दुई घटनाले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट भारततर्फबाट टाउकामा बोकेर नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चार बोरा विभिन्न किसिमका आईफोन मोबाइल पाट्र्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बीओपी बाहुणडाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रवीर राईको कमाण्डमा खटिएको सात सदस्यीय पैदल गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्ति सामान छाडेर फरार भएको बताइएको छ। बरामद मोबाइल पाट्र्सको भन्सार मूल्य रु. १८ लाख ९ हजार रहेको जनाइएको छ। सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ।
त्यसैगरी बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकबाट भारतीय भेनमा लोड गरेर ल्याइएको हुक्कामा प्रयोग हुने फ्लेवर आठ कार्टुन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको ध्द्य ७४क् ३३६५ भेनका चालक सामान र सवारीसाधन छाडेर फरार भएको बताइएको छ। फ्लेवरको मूल्य रु. ५ लाख र भेनको मूल्य रु. १० लाख गरी रु. १५ लाख बराबरको सामान तथा सवारीसाधन भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ।यस्तै, मेचीनगर–६ तुर्केनीबाट १९ बोरा फर्सीको बियाँ बरामद गरिएको विवरण पनि सार्वजनिक भएको छ।
यी घटनाले एउटा सामान्य प्रश्न उठाउँछन्, यदि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ भने तस्करीका सामान नेपाल प्रवेश गर्न कसरी सफल हुन्छन् ?सीमा सुरक्षा भनेको नेपाल प्रवेश गरिसकेपछि सामान समात्नु मात्र होइन। यसको मूल उद्देश्य नै अवैध आवागमन र चोरी–तस्करीलाई सीमा नाकामै रोक्नु हो। त्यसैले एउटै क्षेत्रमा बारम्बार तस्करीका सामान नेपाल भित्रिनु र त्यसपछि केही दूरीमा पुगेर बरामद हुनु आफैंमा अनुसन्धानको विषय बन्न सक्छ।
यही कारण झापामा सशस्त्र प्रहरीको कार्यशैलीबारे स्थानीयस्तरमा समेत प्रश्न उठ्न थालेका छन्। सीमामा खटिएको टोलीले तस्करी रोक्यो कि तस्करी भइसकेपछि बरामद गरेर आफ्नो कार्यसम्पादन देखायो ? भन्ने प्रश्नको वस्तुगत जवाफ आवश्यक देखिन्छ।यद्यपि, कुनै निश्चित सशस्त्र प्रहरी कर्मचारी वा इकाइ तस्करसँग मिलेको निष्कर्ष प्रमाणबिना निकाल्न मिल्दैन। तर, यदि सीमा क्षेत्रबाट सामान नियमित रूपमा पार हुने र त्यसै सामानलाई केही दूरीमा अर्को टोलीले बरामद गर्ने प्रवृत्ति दोहोरिइरहेको छ भने त्यसको स्वतन्त्र छानबिन भने आवश्यक हुन्छ।
विशेषगरी बीओपीदेखि गण र गुल्मसम्मको कमाण्ड संरचना, गस्तीको रुट, सीमा निगरानीको समय, सीसीटीभी तथा अन्य निगरानी प्रविधिको प्रयोग, पक्राउ र बरामदगीको स्थान तथा समय, फरार भएका व्यक्तिको पहिचान प्रयास र भन्सारमा बुझाइएका सामानको विवरणबीच तुलना गर्नुपर्ने देखिन्छ।राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षा राज्यको संवेदनशील जिम्मेवारी हो। तस्करी नियन्त्रण गर्ने निकायले तस्करी रोक्न नसकेर सामान भित्रिएपछि बरामद गरेको मात्र देखिँदा त्यसलाई उपलब्धिका रूपमा प्रचार गर्नु पर्याप्त हुँदैन। बरामदगीको संख्या बढ्नुको साटो सीमा पारि नै तस्करी रोकिएको अवस्था सिर्जना हुनु सुरक्षा संयन्त्रको वास्तविक सफलता हो।
झापाको सीमा क्षेत्रमा देखिएको भनिएको यो ‘दोहोरो चरित्र’ वास्तविक हो वा केही घटनालाई आधार बनाएर सिर्जना भएको धारणा मात्र हो भन्ने छुट्याउन पनि तथ्यमा आधारित छानबिन आवश्यक छ।त्यसैले प्रश्न सशस्त्र प्रहरीमाथि आरोप लगाउनेभन्दा पनि सशस्त्र प्रहरीको आफ्नै निगरानी संयन्त्रमाथि हो।
सीमामा तस्करी भइरहेको छ भने त्यसको जिम्मेवारी कसको ? सामान नेपाल भित्रिएपछि बरामद भयो भने त्यसअघि सीमा क्षेत्रमा के भइरहेको थियो ? एउटै क्षेत्रमा पटक–पटक यस्ता घटना भइरहेका छन् भने त्यसको कारण के हो ?यी प्रश्नको जवाफ पारदर्शी रूपमा खोजिनुपर्छ।किनकि सीमा सुरक्षाको अर्थ तस्करी भएको सामान समातेर तथ्यांक बढाउनु होइन, तस्करी हुनै नदिनु हो। झापाको सीमा क्षेत्रमा पछिल्ला घटनाले यही आधारभूत प्रश्नलाई फेरि सतहमा ल्याइदिएको छ।

सम्बन्धित समाचार