बर्दिया । नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्ने गरी बर्दियाका सीमावर्ती नाकाबाट खुलेयाम तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ । विशेषगरी नेपालगन्जबाट करिब २५ किलोमिटर पश्चिमतर्फ पर्ने कण्ठपुर–इट्टाभट्टार आसपासका सीमा क्षेत्रबाट लामो समयदेखि विभिन्न वस्तुको अवैध कारोबार भइरहेको स्थानीय तथा कारोबारी स्रोतको दाबी छ ।
स्रोतका अनुसार उक्त क्षेत्रबाट नेपालबाट भारततर्फ खरबुजाको बीउ, जडीबुटी, भैंसी, मेघाश्रीलगायतका सामान अवैध रूपमा लैजाने गरिएको छ भने भारतबाट नेपालतर्फ किराना सामान, कपडा तथा अन्य उपभोग्य वस्तु भित्रिने गरेको आरोप छ । सीमा क्षेत्रमा नियमित गस्ती, चेकजाँच र सुरक्षा संयन्त्र सक्रिय रहे पनि तस्करी नरोकिएको घटनाले ‘निगरानी प्रभावकारी छ कि छैन’ भन्ने प्रश्न खडा गरेको छ ।
केही दिनअघि कण्ठपुर क्षेत्रबाट भारततर्फ लैजान लागिएको ठूलो परिमाणको खरबुजाको बीउ नेपाल प्रहरीले बरामद गरेपछि सीमा क्षेत्रमा भइरहेको भनिएको तस्करीको ‘सेटिङ’ थप चर्चामा आएको हो । स्रोतको दाबीअनुसार उक्त सामान सशस्त्र प्रहरीको मिलेमतोमा सीमा कटाउने तयारी भइरहेको थियो । कण्ठपुरस्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्ममाथि नै तस्करीको ‘लाइन’ सञ्चालनमा सहजीकरण गरेको आरोप लागिरहेको छ । गुल्मका प्रमुख डीएसपी बिरेन्द्र बहादुर पाल रहेको अवस्थामा सीमाक्षेत्रमा तस्कर तथा व्यापारीसँग सम्पर्क र समन्वय गर्न हवल्दार खड्ग ओलीलाई ‘घुमुवा’का रूपमा परिचालन गरिएको स्रोतको दाबी छ ।बुधबार मात्रै कण्ठपुरकाे क्षेत्रबाट खरबुजाकाे बीउ तस्करी हुदैछ र उक्त बीउ सीमा नजिकै कुखुराको फार्म हाउसमा राखिएको सुचना बाहिनीमा पुगेपछि बाहिनीले वरामद गर्न निर्देशन दिएको थियो । उक्त बीउ बिहीबार भन्सार बुझाइएको छ । त्यही प्रकरण र अन्य तस्करी काण्डमा डिएसपी पाल बाहिनीकाे आदेशमा गणमा तानिएका छन् ।
स्रोतका अनुसार ओलीको मुख्य भूमिका तस्करीमा संलग्न भनिएका व्यक्ति तथा व्यापारीसँग भेटघाट गर्ने, सम्बन्ध मिलाउने र आर्थिक लेनदेन व्यवस्थापन गर्नेसम्म रहेको आरोप छ । तर, यस्तो आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।ओलीको विगतको भूमिकालाई लिएर समेत प्रश्न उठाइएको छ । स्रोतका अनुसार यसअघि पनि उनी सीमाक्षेत्रमा ‘घुमुवा’का रूपमा परिचालित हुँदा विवादमा परेका थिए । तत्कालीन बाँकेस्थित सीमा सुरक्षा कार्यालयका एसपी शम्भु सुवेदीसँग विवाद भएपछि उनलाई एक रात नियन्त्रणमा राखेर तत्कालीन बाहिनी रहेको सुर्खेत पठाइएको दाबी गरिएको छ ।
त्यतिबेला सुर्खेतस्थित बाहिनीको नेतृत्व डीआईजी उत्तम खड्काले गरिरहेका थिए । स्रोतका अनुसार डीआईजी खड्काको नाम प्रयोग गर्दै ओली र अर्का नरेश कार्कीले जडीबुटी कारोबारमा संलग्न व्यक्तिहरूसँग आर्थिक लेनदेन गरेको विषयमा विवाद उत्पन्न भएको थियो । त्यसपछि एसपी सुवेदीले उनीहरूलाई नियन्त्रणमा लिएर बाहिनीमा रिपोर्ट गरेको र बाहिनीपतिबाट कारबाहीको निर्देशन आएपछि उनीहरूलाई केही समय थुनिएको दाबी गरिएको छ ।यदि विगतमा विवादमा परेका कर्मचारीलाई पुनः संवेदनशील सीमा क्षेत्रमा ‘घुमुवा’को जिम्मेवारी दिइएको हो भने त्यसको औचित्यमाथि पनि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।