सूर्यबिनायकमा गणेश चतुर्थीको भव्य तयारी, रथयात्रासहित सिन्दुर जात्रा हुने

877 Shares

भक्तपुर । भक्तपुरको प्रसिद्ध सूर्यबिनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्व भव्य र हर्षोल्लासका साथ मनाइने भएको छ। गणेश चतुर्थीका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गर्ने तयारी गरिएको छ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटमा सूर्यबिनायक क्षेत्र प्रबन्ध समिति र सूर्यबिनायक युवा क्लबका प्रतिनिधिहरूले जात्राको तयारीबारे जानकारी दिएका हुन्।

सूर्यबिनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति, परम्परा, आस्था र एकताको उत्सवका रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको बताए।

उनका अनुसार गणेश जात्राका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गरिनेछ। आस्थाको धरोहरका रूपमा रहेको जात्रा सूर्यबिनायक गणेश मन्दिरबाट सुरु गरी भक्तपुरका वडा नम्बर ६ र ८ को परिक्रमा गराउँदै सूर्यबिनायक चोकसम्म पुर्‍याइनेछ। त्यसपछि पुनः मन्दिरमा लगिने बस्नेतले बताए।

जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यबिनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी इश्वरी प्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहहरूको समेत सक्रिय सहभागिता रहने बस्नेतले जानकारी दिए।

२०७८ सालदेखि भव्य र सभ्य रूपमा मनाउँदै आएको यो जात्राको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा स्थानीयवासीले खेल्दै आएको भूमिका अहंम रहेको उनको भनाइ छ।

प्रबन्ध समितिका उपाध्यक्ष इश्वर खड्काले जात्रा तथा पर्व सञ्चालनमा स्थानीय तहको सदैव सहयोग र रचनात्मक भूमिका रहेको बताए। जात्रा सञ्चालन सहज बनाउन वडा नम्बर ६ र ८ बाट तीन–तीन लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उनले जानकारी दिए।

खड्काले गणेश चतुर्थीलाई पर्वकै रूपमा मनाउन थालिएसँगै हरेक वर्ष सूर्यबिनायक मन्दिर क्षेत्रसँगै वडा नम्बर ६ र ८ मा सीमित नरही यो पर्व देशैभरको पर्वका रूपमा स्थापित हुँदै गएको बताए।

सूर्यबिनायक युवा क्लबका अध्यक्ष दिप गिरीले हरेक क्षेत्रका तह र तप्काबाट सहयोग मिलेकाले जात्रा सहज रूपमा सञ्चालन गर्न सबै सरोकारवाला क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरे।

जात्रा सञ्चालनका लागि विभिन्न समिति गठन गरिएको पनि गिरीले जानकारी दिए। उनका अनुसार बाजा व्यवस्थापन समिति, प्रसाद व्यवस्थापन समिति, प्रचार–प्रसार समिति, पूजा व्यवस्थापन समिति र आर्थिक व्यवस्थापन समितिसमेत गठन गरिएको छ।

गणेश चतुर्थीका दिन हजारौंभन्दा बढी भक्तजनले सूर्यबिनायक गणेश मन्दिरमा दर्शन गर्ने अपेक्षा गरिएको भन्दै गिरीले भक्तजनलाई सहज रूपमा दर्शन गराउने चाँजोपाँचो मिलाइएको बताए।

सूर्यबिनायकको गणेश मन्दिर भक्तजनको आस्था र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा समेत परिचित छ। गणेश चतुर्थीका अवसरमा हुने रथयात्रा, सिन्दुर जात्रा तथा धिमेबाजासहितको सांस्कृतिक गतिविधिले स्थानीय मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार