विराटनगर । करिब ६० किलो गाँजा बरामद भएको गाडी प्रहरी नियन्त्रणमा पुगेपछि त्यसमा रहेको अस्पतालको पहिचान खुल्ने स्टिकर हटाइएको घटनाले मोरङ प्रहरीभित्रै गम्भीर प्रश्न उठाएको छ। गाँजा बरामद हुँदाको तस्वीरमा स्पष्ट देखिएको ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको स्टिकर पछि सार्वजनिक तस्वीरमा गायब भएपछि घटनाले नयाँ मोड लिएको हो।
घटनामा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रविण घिमिरेसँग जिल्ला प्रहरी कार्यालय मोरङले २४ घण्टे स्पष्टीकरण मागेको पुष्टि भएको छ। प्रहरी नियन्त्रणमा पुगेको प्रमाणमा कुनै किसिमको तोडमोड वा परिवर्तन भएको भए जिम्मेवार व्यक्तिमाथि कारबाही गरिने जिल्ला प्रहरी नेतृत्वले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीले विराटनगरमा ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट दुईवटा बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा बरामद गरेको थियो। बरामदगीका क्रममा गाडीको पछाडिपट्टि अस्पतालको नाम स्पष्ट देखिने गरी तस्वीरसमेत खिचिएको थियो।त्यसपछि आवश्यक मुचुल्कासहित गाडी र गाँजा इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताइएको छ। तर प्रहरी नियन्त्रणमा पुगेपछि गाडीको बाहिरी भागमा रहेको अस्पतालको नाम खुल्ने स्टिकर हटाइएको अवस्थामा भेटिएपछि प्रहरीले आफ्नो जिम्मामा लिएको प्रमाण सुरक्षित राख्यो कि त्यसमा फेरबदल भयो ? भन्ने प्रश्न उठेको हो।
घटनाको सबैभन्दा संवेदनशील पक्ष नै यही बनेको छ। बरामदगीका क्रममा खिचिएको तस्वीरमा गाडीको पछाडि अस्पतालको नाम स्पष्ट देखिन्छ। तर पछि सार्वजनिक भएको तस्वीरमा त्यही स्थानमा अस्पतालको स्टिकर देखिँदैन।सामान्य अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको सवारीसाधनको अवस्था जस्ताको तस्तै सुरक्षित राख्नुपर्ने हुन्छ। विशेषगरी कुनै आपराधिक घटनामा प्रयोग भएको हुनसक्ने सवारीसाधन आफैं अनुसन्धानको महत्वपूर्ण प्रमाण बन्न सक्छ।त्यसैले स्टिकर कसले, कहिले र किन हटायो ? भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट आउनुपर्ने देखिन्छ।
प्रहरी निरीक्षकसँग २४ घण्टे स्पष्टीकरण
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालले प्रहरी निरीक्षक घिमिरेसँग २४ घण्टे स्पष्टीकरण मागिएको पुष्टि गरेका छन्।कटवालका अनुसार प्रहरी नियन्त्रणमा रहेको प्रमाणमा तोडमोड वा परिवर्तन गर्न पाइँदैन। घटनाबारे छानबिन भइरहेको र अनुसन्धानबाट कसैको कमजोरी वा संलग्नता देखिए आवश्यक कारबाही गरिने उनको भनाइ छ।प्रहरी स्रोतका अनुसार गाडीबाट अस्पतालको नाम हटाउने व्यक्तिको पहिचानसमेत भएको दाबी गरिएको छ। तर ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।यसअघि प्रहरी निरीक्षक घिमिरेले गाडीबाट अस्पतालको नाम हटाइएको विषयलाई ‘ठूलो विषय नबनाउन’ भनेको स्रोतको दाबीसमेत बाहिर आएको छ। उक्त भनाइ सत्य हो भने त्यसले घटनाको संवेदनशीलता झनै बढाउनेछ। यद्यपि, यसबारे सम्बन्धित प्रहरी निरीक्षकको स्पष्ट प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।
घटनालाई गम्भीर रूपमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले समेत मोरङ प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको बताइएको छ।अब छानबिन गाँजा बरामद गर्ने व्यक्तिसम्म मात्र सीमित नरही प्रहरी नियन्त्रणमा पुगेको गाडीको अवस्थामाथि समेत केन्द्रित भएको छ। प्रमाणमा परिवर्तन भएको हो वा सामान्य कारणले स्टिकर हटेको हो ? भन्ने विषय अनुसन्धानको मुख्य प्रश्न बनेको छ।
यता, दिव्य ज्योति आँखा अस्पतालका अध्यक्ष देवा यादवले बरामद भएको गाडी अस्पतालको नभएको दाबी गरेका छन्। गाडी अस्पतालको सम्पर्कमा समेत नरहेको बताउँदै उनले अस्पतालको नाम प्रयोग गरेर संस्थालाई घटनासँग जोड्ने प्रयास भएको बताएका छन्।यदि अस्पतालको दाबी सही हो भने अर्को प्रश्न उठ्छ—अस्पतालको नाम गाडीमा कसले र कुन उद्देश्यले प्रयोग गर्यो ?अबको अनुसन्धानले गाडीको वास्तविक स्वामित्व, अस्पतालको पहिचान कसरी प्रयोग भयो, गाँजा कसले ओसारिरहेको थियो र सबैभन्दा महत्वपूर्ण रूपमा प्रहरी नियन्त्रणमा पुगेपछि स्टिकर कसले हटायो भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेछ।करिब ६० किलो गाँजा बरामद भएको घटनाभन्दा पनि अहिले प्रहरीको जिम्मामा पुगेको प्रमाणको स्वरूप नै परिवर्तन भएको आशंका गम्भीर बन्दै गएको छ। २४ घण्टे स्पष्टीकरणपछि अघि बढ्ने अनुसन्धानले यो सामान्य लापरबाही थियो, प्रमाण व्यवस्थापनमा कमजोरी थियो वा जानाजानी प्रमाण प्रभावित पार्ने प्रयास—त्यसको तथ्य बाहिर ल्याउनुपर्ने देखिन्छ।गाँजा कसको थियो भन्ने प्रश्नसँगै अब अर्को ठूलो प्रश्न थपिएको छ—प्रहरीको हातमा पुगेपछि गाडीको ‘पहिचान’ कसले मेटायो ?