काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल तथा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ ।
निगमका अनुसार अब ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूले आफूलाई चाहिने ग्यास उपत्यकाबाहिरका उद्योगबाट सीधा खरिद गरी ल्याउनुपर्नेछ ।
सर्वसाधारण (घरायसी) उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको निगमले जनाएको छ ।
निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार घरायसी ग्राहकको सुविधालाई प्राथमिकतमा राखेर उपत्यकाका ग्यास डिपो तथा विक्रेताहरूबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने नीति लिइएको हो ।
‘निगमले व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाबाट ग्यास बिक्री गर्न नदिने निर्णय गरेको छ,’ उपाध्यायले भने, ‘ठूला होटल र उद्योगले आफूलाई चाहिने ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगमा पुगेर सीधै ल्याउन सक्नेछन् ।’
यो व्यवस्था लागू भएसँगै हेटौंडा, चितवन, नवलपरासीलगायतका जिल्लाबाट काठमाडौं भित्र्याइएका ग्यास सिलिन्डरहरु अब उपत्यकामा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन ।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने उद्योग तथा व्यवसायीहरुले आफ्नै सवारी साधन र ढुवानीको व्यवस्था गरी उपत्यकाबाहिरका उद्योगबाट ग्यास ल्याउनुपर्नेछ ।