प्रहरी स्कुल साँगामा देखिएको विभेद

413 Shares

प्रहरी प्रधान कार्यालयले काजमा रहेका तथा सरुवा–बढुवा भई अन्यत्र पदस्थापना भएका प्रहरी कर्मचारीलाई यथाशीघ्र सम्बन्धित दरबन्दीमा हाजिर गराउन मातहतका कार्यालयलाई निर्देशन दिँदै आएको छ। प्रहरी संगठनभित्र आन्तरिक सुदृढीकरण, जिम्मेवारीको समान वितरण र लामो समय एउटै कार्यालयमा बस्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले यस्तो निर्देशन आएको बुझिन्छ। तर, नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोकमा भने उक्त निर्देशन कार्यान्वयनमा विभेद गरिएको गुनासो पीडित प्रहरी कर्मचारीहरूबाट आएको छ।
स्कुलमा कार्यरत केही प्रहरी कर्मचारीलाई सम्बन्धित दरबन्दीमा फिर्ता पठाइए पनि लामो समयदेखि अन्यत्र दरबन्दी कायम रहेका वरिष्ठ सई भगवान कार्की र वरिष्ठ हवल्दार गणेश केसीलाई भने निरन्तर थमौती गरिएको आरोप छ। भगवान कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी भएर पनि करिब एक दशकदेखि साँगामै कार्यरत रहेको तथा गणेश केसी सिन्धुलीको दुधौली तालिम केन्द्रमा दरबन्दी भएर पनि हवल्दार मेजरका रूपमा लामो समयदेखि साँगामा रहेको बताइन्छ।
प्रश्न यहाँ कुनै व्यक्तिको क्षमतामाथि होइन, संगठनको नियम सबैका लागि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने हो। यदि लामो समय एउटै स्थानमा बसेका कर्मचारीलाई विशेष कारणले राख्नुपर्ने हो भने त्यसको स्पष्ट प्रशासनिक आधार र निर्णय सार्वजनिक हुनुपर्छ। तर, पहुँच र चाकडीका आधारमा कसैलाई संरक्षण गर्ने र पहुँच नभएकालाई तत्काल दरबन्दीमा फिर्ता पठाउने हो भने त्यसले संगठनभित्र गम्भीर असन्तुष्टि र अन्यायको भावना जन्माउँछ।
सोही स्कुलमा कार्यरत अन्य वरिष्ठ हवल्दार तथा प्रहरी कर्मचारीलाई केही समयअघि रमाना गरिएको अवस्थामा निश्चित व्यक्तिलाई मात्र निरन्तर संरक्षण गरिएको हो भने त्यसको निष्पक्ष छानबिन आवश्यक छ। तालुकदार कार्यालयले पटक–पटक निर्देशन दिँदा पनि कार्यान्वयन नभएको हो भने आदेश अवज्ञाको जिम्मेवारीसमेत सम्बन्धित अधिकारीले लिनुपर्छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी दरबन्दी भई नेपाल पुलिस स्कुल काभ्रेपलाञ्चोकमा झण्डै १० वर्षदेखि कार्यरत रहेका वरिष्ठ सई भगवान कार्की र सिन्धुली दुधौली तालिम केन्द्र दरबन्दी भई सोही स्कुलमा हवल्दार मेजरको रुपमा कार्यरत वरिष्ठ हवलदार गणेश केसीलाई काखी च्याप्दै आएको गुनासो रहेको छ । हवल्दार मेजर र सुवेदार मेजर चलाउन सक्ने अन्य कुनै पनि प्रहरी अधिकारी नभएको र सिनियर उनीहरू नै रहेको भन्दै तोकिएको दरबन्दीमा रमाना गर्न डिएसपी कार्की स्वयंले नै मानिरहेका छैनन् । १० वर्षदेखि हवलदार मेजर र सुवेदार मेजर बस्दैआएका दुवैलाई डिएसपी कार्कीले थमौती दिइरहेकी छिन् । सोही पुलिस स्कुल सांगामा कार्यरत वरिष्ठ हवल्दारद्वय सिताराम शाक्य, मनिक बहादुर थापा, हवल्दारत्र्य रमा भण्डारी, निर्मला घिमिरे, जवान निर्मला कठायतलाई केही महिना अघि रमाना गरिएको थियो ।प्रहरी संगठन अनुशासन, आदेश र समान व्यवहारमा टिकेको संस्था हो। त्यसैले प्रहरी प्रधान कार्यालयले साँगा प्रहरी स्कुलमा अन्यत्र दरबन्दी भएका कर्मचारीको काज तथा थमौतीको अवस्था छानबिन गरी कसलाई किन राखियो, कसलाई किन पठाइयो र आदेश कार्यान्वयनमा किन विभेद भयो भन्ने तथ्य सार्वजनिक गर्नुपर्छ।नियम प्रहरीका लागि मात्र होइन, नियम कार्यान्वयन गराउने अधिकारीका लागि पनि समान हुनुपर्छ। अन्यथा आन्तरिक सुदृढीकरणको अभियान नै प्रश्नको घेरामा पर्नेछ।

सम्बन्धित समाचार