काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तान नियुक्त भएपछिको पहिलो पोस्टमा सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलप्रति सद्भाव दर्शाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले रोहितले कप्तानको रुपमा दिएको योगदानका लागि धन्यवाद दिएका हुन् ।
सन्दीपले लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्यौ, त्यसका लागि । टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ ।’
नेपाल क्रिकेट संघ (क्यान) ले एक दिवसीय टिमका कप्तानबाट रोहितलाई हटाएरर सन्दीपलाई जिम्मेवारी दिएको हो । यसअघि रोहितको टि २० टिमको कप्तानी पनि खोसिएको थियो । अब उनले प्रमुख ब्याट्सम्यानका रुपमा टीममा योगदान दिनेछन् ।