काठमाडौँ । स्वास्थ्य उपचारपश्चात् बिहीबार स्वदेश फर्कन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने भएका छन् ।
कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा विमानस्थलमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘उहाँ (देउवा)लाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ,’ विश्वकर्माले भने, ‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठुलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’
विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। लामो समयको उपचारपछि स्वदेश फर्कन लागेका नेता देउवालाई भव्य स्वागत गर्ने तयारी कांग्रेसको इतर समूहले गरेको हो ।
गत फागुन १३ गते नेपालबाट स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचार सकिएपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । देउवा हङकङबाट थाइल्याण्ड पुग्ने र थाइल्याण्डबाटै नेपाल फर्कने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिए ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित उनीहरूकै निवासमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसपछि सैनिक अस्पताल छाउनीमा लामो समय उपचार गरेका देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए ।
सोही घटनापछि उत्पन्न स्वास्थ्य जटिलताका कारण देउवा लामो समयदेखि विदेशमा उपचाररत रहेको उनको पारिवारिक स्रोतले बताउँदै आएको छ ।
स्वदेश फर्किए लगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने नेताहरूले बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले पुष्टि गरे ।
कांग्रेसभित्र गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । त्यही विवादका बिच इतर समूहले गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने नेताहरूले प्रचार गरिरहेका छन् ।