काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गएराति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो ।
झाले आफ्नो पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ । सांसद झाले आफूले हिजो प्रतिनिधिसभा बैठकमा बोलेको कुरालाई इङ्गित गर्दै सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताउनुभएको छ ।
हिजो संसदमा रास्वपाका सांसदहरू मनिष झा, रमेश पर्साइ, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए । दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनुभएको थियो ।
आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ । 