काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पार्टीका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नगर्न निर्देशन दिएको छ।
महामन्त्री राजेन्द्र गुरुङले दलका नेता थापालाई पार्टीको निर्देशनबिना कुनै निर्णय नलिने निर्देशन दिएका हुन्।
प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने राप्रपाको निर्णय छ। प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने पार्टीको धारणा रहेको जनाइएको छ।
यद्यपि, आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ। बागमती प्रदेशमा सरकार निर्माणमा राप्रपा निर्णायक देखिएको छ।
एमालेले यहाँ किरण थापालाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेको छ। कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानियाँले पनि राप्रपालाई फकाउने प्रयास जारी राखेका छन्।
दुवैतिरबाट तानातानमा भइरहेको बेलामा नेता थापालाई केन्द्रको निर्देशनबिना कुनै निर्णय नलिन भनिएको हो।