काठमाडौं । सरकारले काठमाडौंमा हुन लागेको तिब्बती मामिलाको अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गराएको छ । चीनले आपत्ति जनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजकलाई भदौ पहिलो साता आयोजना हुने सम्मेलन रोक्न भनेको हो ।
आएटीएसको १७ औं सम्मेलन यसपटक नेपालमा आयोजना हुने भनिएको थियो । सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने आयोजकले बताएका थिए । सम्मेलनमा दलाई लामा प्रशासित धर्मशालाको प्रतिनिधिसमेत सहभागी हुने भएकाले सरकार सशंकित बनेको हो । यद्यपि गृहमन्त्री सुधन गुरुङले गत साता कान्तिपुरलाई दिएको अन्तर्वार्तामा सम्मेलन नेपालमा आयोजना हुने र सुरक्षाको समस्या नरहेको बताएका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिपछि चीनको चासो झनै बढेको थियो भने परराष्ट्र मन्त्रालयले पनि सम्मेलन रोक्न उचित हुने अनौपचारिक सन्देश प्रधानमन्त्रीलाई दिएको थियो ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजक काठमाडौं विश्वविद्यालयको हिमालय सेन्टर फर एसियन स्टडिज र सेन्टर फर बुद्धिष्ट स्टडिज राङजुङ यसे इन्स्टिच्युटलाई सम्मेलन रोक्न आग्रह गरेका हुन् ।
सम्मेलनमा धर्मशालाका प्रतिनिधि औपचारिकरूपमा सहभागी हुने भनिएको थिएन तर उनीहरू अनौपचारिक र व्यक्तिगतरूपमा आएर स्वतन्त्र तिब्बतको पक्षमा बोल्ने जानकारी प्राप्त भएपछि सरकार सचेत बनेको हो ।
सुरक्षा जोखिम र कुटनीतिक समस्या निम्तिने भन्दै सम्मेलन रोक्न सरकारलाई सरोकारावालाहरुले पनि दबाब दिएका थिए ।
पछिल्लो समय नेपालमा फ्री तिब्बत पक्षधरका गतिविधिहरू बढिरहेको र जेन—जी आन्दोलनमा टीओबीको संलग्नता तथा त्यसयता भएका कयौं घटनाक्रमप्रति चीनले चासो बढाएको छ ।