काठमाडौं । नेपालको विरोध भइरहेको अवस्थामा त्यसलाई वेवास्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन् ।
नेपालको विरोधका बाबजुद दुवै देशले औपचारिकता पूरा गरेर नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार आधिकारिक रूपमा सुरु गरेका हुन् । पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीको समूह चीनको तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट मण्डी पुगेको छ ।
धार्चुला उपविभागीय मजिस्ट्रेट आशिष जोशीका अनुसार इन्डो–तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ दर्ता भएका व्यापारी र चार सहयोगीसहित २० सदस्यीय टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा सबै आप्रवासन औपचारिकता पूरा गरेको थियो । त्यसपछि टोलीले नाबिधाङमा रात बितायो र शनिबार बिहान लिपुलेख दर्रा प्रस्थान गरेको थियो ।
शनिबार बिहान १०ः १५ बजे चिनियाँ अधिकारीहरूले लिपुलेख दर्रामा औपचारिकता पूरा गरेर भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि टोली तकलाकोट मण्डीतिर लागेपछि २०२६ को सीमा व्यापार सिजन आधिकारिक रूपमा सुरु भएको हो । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो ।