धनुषा । चार महिनाको अन्तरालमा धनुषाको ढल्केवरस्थित दुई फरक होटलमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि ढल्केवरमा होटल व्यवसायको आडमा भइरहेको अवैध गतिविधिमाथि गम्भीर प्रश्न उठेको छ। दुवै घटनाको अनुसन्धान जारी रहे पनि एउटै क्षेत्रमा पटक–पटक यस्ता घटना दोहोरिनुले होटल सञ्चालनको निगरानी, प्रहरीको अनुगमन र स्थानीय सरकारको नियमन प्रभावकारी नभएको भन्दै स्थानीयस्तरमा तीव्र बहस सुरु भएको छ।
पछिल्लो घटना गत असार २६ गते राति ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा भएको थियो। धादिङकी ५१ वर्षीया चेलीमाया तामाङ होटलको कोठामा अचेत अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि जानकी मेडिकल कलेज पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाका बेला उनीसँगै कोठामा रहेका सिन्धुपाल्चोकका ५० वर्षीय एबनारायण श्रेष्ठलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार दुवैले आफूलाई श्रीमान–श्रीमती भनेर होटलमा कोठा लिएका थिए। होटल सञ्चालक मुकुन्द अधिकारीले पुरुषको मात्रै परिचयपत्रको विवरण राखिएको स्वीकार गर्दै महिलाको परिचय खुल्ने कागजात नलिइएको बताएका छन्। घटनापछि उनीहरू वैवाहिक सम्बन्धमा नरहेको खुलेको हो।
यसअघि गत चैत १८ गते ढल्केवरकै जुन तारा स्टाप लाइन होटलमा पोखरा महानगरपालिका–१३ की २३ वर्षीया जेनिसा विक मृत फेला परेकी थिइन्। मुखबाट फिँज निस्किएको अवस्थामा भेटिएकी जेनिसालाई होटल सञ्चालकले फोन गरेर बोलाएको आरोप उनका परिवारले लगाएका थिए। घटनापछि केही व्यक्ति फरार भएको दाबी गरिए पनि सम्बन्धित होटल अहिले पनि सञ्चालनमै छ।यी दुई घटनाले ढल्केवरमा केही होटल तथा गेष्ट हाउसहरू केवल आवासका लागि मात्र नभई अवैध यौन गतिविधिको केन्द्र बन्दै गएको स्थानीयको आशंकालाई थप बल दिएको छ। स्थानीयवासीका अनुसार केही होटलमा युवती राख्ने र मागअनुसार विभिन्न होटलमा पठाउने नेटवर्क नै सक्रिय रहेको चर्चा लामो समयदेखि हुँदै आएको छ।यद्यपि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले प्रहरी र होटल व्यवसायीबीच ‘सेटिङ’ रहेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार प्रहरीले नियमित निगरानी र चेकजाँच गरिरहेको भए पनि सार्वजनिक रूपमा उठाइएजस्तो प्रमाण हालसम्म फेला परेको छैन।
तर स्थानीयहरू प्रहरीको दाबीप्रति विश्वस्त देखिँदैनन्। उनीहरूका अनुसार दैनिक हजारौँ यात्रु आवतजावत गर्ने ढल्केवरमा होटलहरूको प्रभावकारी अनुगमन नहुँदा अवैध गतिविधि मौलाउँदै गएको छ। अतिथिको पहिचान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रिया पालना गराउने विषयमा सम्बन्धित निकायको भूमिका कमजोर रहेको उनीहरूको आरोप छ।ढल्केवर क्षेत्रमा सञ्चालनमा रहेका केही डान्सबारलाई लिएर पनि स्थानीय असन्तुष्टि बढ्दै गएको छ। अश्लील गतिविधिले सामाजिक वातावरण बिगारेको भन्दै स्थानीयहरू आन्दोलनको तयारीमा छन्। गत वर्ष पनि दुई वटा डान्सबारमा स्थानीयले तोडफोड गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टिम मिथिला नगरपालिकाका संयोजक सुनिलकुमार महतोले ढल्केवरमा अवैध गतिविधिले सीमा नाघेको टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत ढल्केवरको नाम नै परिवर्तन गरेर ‘मिर्जापुर’ राख्नुपर्ने कटाक्ष गरेका छन्।यता मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष मुन्नाकुमार सिंहले अवैध गतिविधिमा संलग्न व्यवसायीलाई कुनै संरक्षण नदिइने स्पष्ट पारेका छन्। गलत गतिविधिमा संलग्न होटल व्यवसायी पहिचान भए कानुनी कारबाहीमा संघले समेत सहयोग गर्ने उनको भनाइ छ।दुई महिलाको रहस्यमय मृत्युले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ—ढल्केवरका केही होटल केवल व्यवसाय सञ्चालनका लागि खुलेका हुन्, कि त्यहाँ कानुनको आँखाछली गर्दै अर्को समानान्तर धन्दा पनि फस्टाइरहेको छ रु यसको जवाफ अब प्रहरी अनुसन्धान, स्थानीय सरकारको नियमन र कानुनी कारबाहीले दिनुपर्ने देखिएको छ।