ललितपुर । दुई तिहाई बालेन साह नेतृत्व सरकारलाई दोष थोपर्दै सर्वर डाउन भएको भन्दै स्थानीय तहका निजामती कर्मचारीहरुले सेवाग्राहीहरुलाई दुःख दिइरहेको पाइएको छ ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ मा सेवाग्राहीहरुले घरवहाल कर, जग्गा करदेखि लिएर व्यवसायिक करहरु तिर्न जाँदा त्यहाँका कमचारीहरुले विभिन्न बहाना बनाउँदै सेवाग्राहीहरुलाई दुःख दिइरहेका छन् । आर्थिक वर्षको पहिलो दिनदेखि लगातार वडा कार्यालयमा कर तिर्न जाने सेवाग्राहीहरुलाई सर्वर डाउन छ भन्दै बहानाबाजी गर्दै फर्काउँदै दुःख दिने गरेको पाइएको छ ।
आर्थिक वर्ष सुरु भएको झण्डै १४ दिन वित्न लागि सक्दा पनि सर्वर डाउन भन्दै सेवाग्राहीहरुलाई दुःख दिने गोदावरी नगरपालिका वडा नं. १२ का सहायक शम बहादुर राई रहेका छन् । सेवाग्राहीले सो वडाका सूचना अधिकृत तथा सचिव पूर्ण महर्जनलाई आफू कर तिर्न आएको जानकारी गराएपछि सहायक कहाँ जान आग्रह गरिरहेका थिए । तर, सेवाग्राही सूचना अधिकृतको आग्रहअनुसार सहायक शमबहादुर राईकोमा जाँदा सिधै राईले ठाडो स्वरमा बोल्दै, ‘तपाईहरु पहिला जहाँ जानुभएको छ त्यही गएर कर तिर्नुस्, म सक्दिन’ भन्दै उल्टै सेवाग्राहीलाई धम्कीपूर्ण भाषा बोलिरहेका थिए । तर, राईले सर्वर डाउन भएको भन्दै कर तिर्न आएका केही सेवाग्राहीहरुको भने काम गरिरहेको प्रष्ट देखिन्थ्यो । सूचना अधिकृत महर्जनसँग सोधेर गएका सेवाग्राहीहरुको भने उनले तपाईंको कामै गर्दिन भन्दै तर्किरहेका थिए । डनगिरी प्रवृत्ति देखाउँदै सहायक राईले कर तिर्न आएका सेवाग्राहीहरुलाई धम्कीपूर्ण भाषा बोल्दै सक्नुहुन्छ भने सरुवा गरेर देखाउनुस्, होइन भने म तपाईंको कामै गर्दिन भन्दै सेवा ग्राहीलाई थर्काउने यस्ता कर्मचारीलाई सम्बन्धित निकायले छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । यस्तै कर्मचारीहरुका कारण अन्य इमान्दार र आफ्नो कामप्रति बफादार हुने कर्मचारीहरुप्रति पनि प्रश्न उठ्ने गर्छ ।
सेवाग्राहीले सो वडाका जनप्रतिनिधिहरुसँग गुनासो राख्दा जनप्रतिनिधिकै अगाडि सहायक राईले मलाई तुरुन्त सरुवा गरिदिनु भन्दै उल्टै जँगिरहेका थिए ।
सूचना अधिकृत महर्जनले पटक—पटक मेरो कम्प्यूटरमा सामान्य समस्या आएको छ, एकचोटी हेरिदिनुभन्दा पनि सहायक राईले टेरपुच्छर नलगाई उल्टै सेवाग्राहीहरुलाई पनि धम्कीपूर्ण भाषा प्रयोग गरी मलाई सरुवा गरी हाल्नु, म यो कुर्चीमा एक मिनेट पनि बस्दिन भन्दा पनि सबै रमिते बनेर बस्नुले राईको हर्कतलाई प्रोत्साहन दिएको प्रष्टरुपमा बुझ्न सकिन्छ । यस्ता हर्कत गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याउनुपर्ने हो कि होइन ? भन्दै सेवाग्राहीहरुले एक आपसमा वडा कार्यालयमै गाईगुई गरिरहेका थिए । यस विषयमा गुनासो पोख्न गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख मानबहादुर खड्कालाई ९८५१३१५१२५ मा फोन गर्दा उहाँ बिदामा बस्नुभएको भन्दै रबि शर्माले फोन उठाएका थिए । फोन उठाएका शर्मालाई गोदावरी नगरपालिका वडा नं. १२ का शम बहादुर राईको बारेमा जानकारी गराउँदा यस्तो नगर्नुपर्ने थियो । यस बारेमा कार्यकारी प्रमुख र मेयरलाई जानकारी गराउने शर्माले बताएका थिए ।