मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।
लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरू केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रशस्त चिस्यान पुगेकाले यहाँ कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउलगायतका रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा दुई दिनअघि परेको वर्षासँगैको हिउँले कृषकको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ती भएकाले यस वर्ष स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गरे ।
कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायतका रैथाने बालीहरूको स्थलगत सर्वेक्षणमा कृषकहरूले स्याउलगायतका अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र एक्याप एवं सबै सरोकारवाला संस्थाको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकको बगैँचा व्यवस्थापन तथा रोगकीरा नियन्त्रण कार्यमा सबै बालीको अनुगमन गर्दा राम्रो पाइएकाले गुणस्तर र उत्पादन दर यस वर्ष साविकभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।