स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

152 Shares

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन सरकारका सम्बन्धित निकायले आवश्यक कार्य गरिरहेको उल्लेख छ।

स्वास्थ्य सेवालाई अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवाका रूपमा औंल्याउँदै मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको जनाएको छ।

चिकित्सा पेसाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध आउन नदिने वातावरण बनाउन मन्त्रालयले सबै अस्पतालहरूलाई अपिल गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सहयोग, सहजीकरण र समन्वय गरिदिन सम्बन्धित सबै निकायसँग आग्रह समेत गरेको छ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोड भएको थियो। आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी समेत घाइते भएका थिए।

सम्बन्धित समाचार