झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

964 Shares

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस-प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनका अनुसार हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म र देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको सीमाभित्र कर्फ्यु लागू गरिएको छ।

आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो। झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।

स्थिति थप बिग्रन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी टोली परिचालन गरिएको छ। कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।

सम्बन्धित समाचार