काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून गुणस्तरको भेटिएपछि बिक्री–वितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको ‘टिलसेट’ (ओन्डान्सेट्रोन इन्जेक्सन आईपी २ मिलिलिटर) को नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ ।
परीक्षणका क्रममा उक्त औषधि भारतीय औषधि मापदण्ड २०२२ अनुसार मात्रा परीक्षण मा असफल भएको विभागले जनाएको छ ।
उक्त औषधि भारतको ट्याब्लेट्स (इन्डिया) लिमिटेडले उत्पादन गरेको हो भने नेपालमा येती फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि, बागडोल–४, ललितपुर ले आयात गरेको हो ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न, बजारबाट फिर्ता गर्न तथा फिर्ता गरिएको विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।
विभागले चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई पनि उक्त इन्जेक्सन सिफारिस नगर्न, बिक्री नगर्न र प्रयोग नगर्न आग्रह गरेको छ ।
‘टिलसेट’ इन्जेक्सन वाकवाकी र बान्ता नियन्त्रणका लागि प्रयोग हुने औषधि हो । विभागले औषधिको गुणस्तरसम्बन्धी समस्या देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।