काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गरे
सामाजिक सञ्जाल र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उनले नेपाल प्रहरीले पनि सोहीअनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिए।
कार्कीका अनुसार प्रहरीले सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढंगले सूचना पुर्याउने प्रयास गरिरहेको छ।
उनले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे।
‘आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन्। टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ। यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ,’ महानिरीक्षक कार्कीले भने, ‘त्यसैले नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो तथा सन्देशहरू सार्वजनिक गरेर नागरिकलाई छिटो र सहज रूपमा जानकारी दिने प्रयास गरिरहेको छ।’
सञ्चारमाध्यमलाई सुझाव दिँदै उनले थपे, ‘मेरो आग्रह छ– राजनीति, विवाद र द्वन्द्वका समाचार मात्र होइनस सिर्जनशीलता, परिश्रम, उत्पादन, कृषि, पर्यटन, नवप्रवर्तन, सुरक्षा र समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिहरूका प्रेरणादायी समाचारलाई पनि प्राथमिकता दिइयोस्।’
यस्ता सकारात्मक समाचारको प्रवर्द्धनले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाज नै रचनात्मकतातर्फ मोडिने विश्वास उनले व्यक्त गरे।