काठमाडौं । प्रहरी संगठन अनुशासन, कर्तव्यनिष्ठा र त्यागको प्रतीक मानिन्छ। तर, प्रहरी प्रधान कार्यालय परिसरभित्र रहेको सशस्त्र प्रहरी गण नम्बर १ मा कार्यरत धेरै प्रहरी कर्मचारीले भोगिरहेको राशन व्यवस्थाको अवस्था भने निकै चिन्ताजनक रहेको गुनासो सुनिन थालेको छ।स्केलअनुसारको गुणस्तरीय खाना उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको अनुभूति हुन सकेको छैन। खसीको मासु पाक्ने दिन झोल र बोसो धेरै हुने तर मासुको टुक्रा मुस्किलले एक–दुईवटा मात्र पर्ने अवस्था रहेको बताइन्छ। कुखुराको मासु पनि नाममात्रको हुने गरेको गुनासो छ। तरकारीमा प्रायः सस्तो र सीमित प्रकारका सामग्री मात्र दोहोरिने गरेको छ भने अन्य पौष्टिक तरकारी विरलै पाक्ने गरेको कर्मचारीहरूको भनाइ छ। नास्ताको गुणस्तरबारे पनि असन्तुष्टि व्यापक रहेको सुनिन्छ।
देशभर शान्ति सुरक्षा कायम गर्न खटिने प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबल उनीहरूले पाउने खानासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। राम्रो खाना र उचित पोषण पाउनु उनीहरूको सुविधा मात्र होइन, आधारभूत अधिकार पनि हो। तर गुनासो उठाउँदा अतिरिक्त ड्युटी, रातिको जिम्मेवारी वा अन्य अप्रत्यक्ष दबाबको सामना गर्नुपर्ने डरका कारण धेरै कर्मचारी खुलेर बोल्न नसक्ने अवस्था रहेको बताइन्छ।विगतमा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गणमा पुगेर प्रत्यक्ष निरीक्षण गरेपछि केही सुधार भएको चर्चा सुनिएको थियो। तर पछिल्ला वर्षहरूमा यस्ता छड्के अनुगमन कम हुँदा राशन व्यवस्थामा पुनः बेथिति बढेको आशंका गरिएको छ।
त्यसैले सिपाहीको राशन खान पल्केकाहरूको अझै ठूलो स्वर देखिन्छ यहाँ , सीमा तिर छड्के हान्ने गृहमन्त्री सुदन गुरूङले एकपटक यो गणको छड्के निरीक्षण गरेर सिपाही हवल्दारको मेशमा खाना खाई दिए र यस्तो गल्ती गर्नेलाई कारबाही गरिदिए , यहाँको खानामा सुधार हुने थियो कि ? गणको राशन व्यवस्थाको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था बुझ्न आवश्यक छ। उच्च अधिकारीहरूले पूर्वसूचना बिना मेशमा पुगेर सिपाही र हवल्दारसँगै भोजन गर्ने तथा दोषी देखिए कडा कारबाही गर्ने हो भने मात्र सुधार सम्भव हुनेछ। प्रहरीको मनोबल कमजोर बनाउने यस्ता समस्यातर्फ समयमै ध्यान जाओस् भन्ने अपेक्षा गर्दछु।