काठमाडौं । सातै प्रदेशमा सत्ता सहकार्य तोड्ने तयारी गरेपछि नेपाली कम्युनिस्ट पार्टी फेरि निर्णायक बन्ने भएको छ। कांग्रेस नेकपासँग कुरा मिले सत्ता सहकार्य गर्ने, नभए प्रतिपक्षमै बस्न तयार भएर एमालेसँग सहकार्य तोड्ने निष्कर्षमा पुगेको छ।
सत्ता सहकार्यको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भइसकेको छ। यद्यपि, कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट कांग्रेस एमाले किचलो सुरु भएको थियो। समस्या समाधान गर्नको लागि कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न चाहेका थिए।
यसअघि प्रदेश सरकारबारे कांग्रेस एमालेबीच आलोपालो सहमति भएको थियो। तर, त्यो कार्यान्वयन भएको छैन। ओलीले भेट्न इच्छा नदेखाएपछि कांग्रेस सहकार्य तोड्ने निष्कर्षमा पुगेको हो।
प्रदेश सरकारको विषयमा दुवै दलसँग अनौपचारिक छलफल भइरहेको नेकपाका नेता नेता देवेन्द्र पौडेलले बताए।
उनले भने, ‘हामी साझा मुद्दामा मिलेर जानुपर्छ भन्नेमा छौँ। अहिले देश अफ्यारो स्थितिमा छ। त्यसैले हामी दुवै दलसँग संवादमा छौँ। कुन दलसँग मिल्ने भन्ने अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ।’
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सङ्घमा विपक्षीमा भएका सबै दल मिलेर जानुपर्ने पार्टीको नीति भएको बताए।
उनले भने, ‘हामीले कांग्रेस वा एमाले एउटासँग होइन, उनीहरूसहित मधेश केन्द्रित दललाई पनि एक ठाउँमा लिएर जानुपर्छ भन्ने ढङ्गले कुराकानी गरेका थियौँ, हाम्रो पार्टीको मूल नीति पनि त्यही हो।’
नेकपा अर्का एक नेताले प्रदेशसभाको चुनाव आउनको लागि थोरै समय बाँकी भएकाले मुख्यमन्त्री पदको लागि मरिहत्ते नगर्ने बताए।
ती नेताले भने, ‘कांग्रेस एमालेको के कुरा हो आइसकेको छैन, औपचारिक रूपमा कुरा आइसकेपछि थप छलफल होला। तर, अब मुख्यमन्त्री पद चाहियो भनेर नेकपाले हत्ते गर्दैन। अब प्रदेशगत रूपमा त्यहीको साथीहरूले आफूअनूकुल निर्णय गर्न पनि सक्नुहुन्छ।’
केन्द्रबाट कुनै दलसँग मिल्ने औपचारिक निर्णय गर्नुभन्दा पनि प्रदेशगत रूपमा फरक निर्णय हुनसक्ने ती नेताले बताए।