काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गर्दै फिफा विश्वकप २०२६ को गोल्डेन बुट होडमा शीर्ष स्थान हासिल गरेका छन् ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा प्रवेश गरेको छ ।
मेसीले हालसम्म विश्वकपमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्टको नयाँ कीर्तिमान कायम गरेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् ।
अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २(१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए ।
अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याउँदै उपाधि रक्षा अभियान कायम राख्दै महत्वपूर्ण भूमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका छन् ।
इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहे पनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पनि पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि बढेका हुन् ।
मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ ।
एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ । अब एमबाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि इंग्ल्यान्डसँग खेल्नेछ । एक खेल खेल्न बाँकी रहेकोले एमबाप्पेको पनि गोल्डेन बुटको सम्भावना भने बाँकी नै छ । एमबाप्पे बाहेक मेसीलाई चुनौती दिने अन्य खेलाडीहरु मेसीको छेउछाउ छैनन् ।
यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए । कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् ।
फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ । अब फाइनलमा ५ गोल गरे मात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बढी छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् ।
सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते । मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् ।
यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याएपछि मेसी फेरि गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।
३९ वर्षको उमेरमा पनि उस्तै जोश र लयका साथ खेलिरहेका मेसीले यस विश्वकपमा नयाँ नयाँ कीर्तिमान बनाउने क्रम जारी राखेका छन् । उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकबउट चरणमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए ।
यस्तै मेसीले यसै विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने लगायत दर्जनौं कीर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेलेका छन् भने सर्वाधिक २१ गोल गरेका छन् । यस्तै विश्वकपमा मेसीले नै सर्वाधिक ११ असिस्ट गरेका छन् ।