काठमाडौं, २ जेठ । अर्जेन्टिनी स्टार लियोनल मेसीले क्लब छाडने चर्चा चलेसँगै फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले उनको रिक्तता पूरा गर्न अर्को खेलाडीको खोजी सुरु गरिसकेको छ । यसैक्रममा पीएसजीले मेसीले क्लब छाडेपछि उनको स्थानमा म्यानचेस्टर सिटीका विंगर बेनार्डो सिल्भालाई ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
२८ वर्षीय पोर्चुगिज खेलाडी सिल्भा सन् २०१७ देखि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेल्दै आएका छन् । उनले म्यान सिटीबाट हालसम्म १ सय ९९ खेल खेल्दै ३३ गोल गरेका छन् । सिल्भाका प्रतिनिधि र पीएसजीबीच विभिन्न चरणमा छलफलसमेत भइसकेको समाचारमा जनाइएको छ । खासगरी पीएसजी मेसीले क्लब छाडेपछि पनि आफ्नो अग्रपँक्ति कमजोर नहोस् भन्ने चाहन्छ ।