काठमाण्डाै – मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०९ अङ्कले घटेर २ हजार ६२१ दशमलव ५९ विन्दुमा झरेको छ । हिजो नेप्से २४ अङ्कले बढेको थियो ।
हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत् समूहको उपसूचक १ दशमलव ७० प्रतिशतले ओरालो लागेको छ ।
आज २४७ वटा कम्पनीको शेयर घटेकोमा २५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर झन्डै साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिटिजन्स बैंकको डिबेन्चर ८ दशमलव ८७ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर ४ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।